सडक दुर्घटना कम गर्न ‘कन्भेक्स मिरर’

1.3K

सडक दुर्घटना कम गर्न ‘कन्भेक्स मिरर’

convex miroor palla

सुशिल नेपाल-
पाल्पा/यदि तपाई तानसेन बुटवल सडकमा सवारी चलाउँदै आउनु भएको छ ? सवारी चलाउँदा मोडहरुमा विपरीत दिशावाट सवारी आएको छरछैन नजान्दा कहिलेकाहिँ दुर्घटनामा पर्नुभएको वा दुर्घटना देख्नु भएको होला । सवारी चलाउँदा ठुलो मोड आयो र विपरीत दिशावाट सवारी आएको छ/छैन जान्न अब भने तपाईलाई सहयोग पुरयाउँनेछ ‘कन्भेक्स मिरर’ ले ।

बुधवार मात्रै तानसेन–वुटवल सडकखण्डमा २५ वटा ‘कन्भेक्स मिरर’ जडान गरिएको छ । सडक दुर्घटना कम गर्ने उद्देश्यले कन्भेक्स मिरर जडान गरिएको हो । ‘तानसेनदेखि दोभानसम्म रहेका २५ ठुला घुम्तीहरुमा बुधवारमात्रै २५ वटा कन्भेक्स मिरर जडान गरियो, जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रविण आचार्यले भने– ‘यसले दुवै तर्फको विपरित दिशाबाट आएको सवारी साधनलाई सजिलै देख्न सकिने र चालकले ऐनामा हेरेको आधारमा सवारी साधनको गति नियन्त्रण गरी संभावित दुर्घटनाबाट बच्न सक्नेछन ।’ घुमाउरो सडक, प्रशस्त मोडका कारणले पहाडी जिल्लाहरुमा हुने दुर्घटनालाई कम गर्न दक्षिण कोरिया गएका पाल्पाली युवाहरुको संस्था नमस्ते पाल्पा परिवार दक्षिण कोरियाले यस्तो कामको सुरुवात गरेको हो ।
कोरियामा रहेका पाल्पाली युवाहरु विच चिट्टा संचालन र केही रकम व्यक्तिगत रुपमा उठाएर पाल्पाको सडक दुर्घटना न्युनिकरणका लागी अभियानको सुरुवात गरीएको संस्थाका संस्थापक अध्यक्ष चेतन सारुले जानकारी दिए । ‘पाल्पा पहाडी जिल्ला भएकोले मोडहरुमा धेरै दुर्घटना हुँदै आएको छ, अध्यक्ष सारुले भने –‘सडक दुर्घटना न्यूनिकरण नै हाम्रो मुख्य उद्देश्य हो ।’

तानसेन वजार भित्रका सडकहरुमा पनि १/२ दिनमै कन्भेक्स मिरर राखिने उनले बताए । ‘अहिले यो अभियानको परीक्षण पनि हो यदि  यसको सबैबाट सुरुक्षा र प्रभाव राम्रो रह्यो भने अन्य स्थानमा पनि राख्ने हाम्रो योजना छ, अध्यक्ष सारुले भने ।’ तानसेन बुटवल सडकमा कन्भेक्स मिरर जडान गरिएका स्थानमा सवारी रोकी चालकहरुलाई ट्राफिक प्रहरीले कन्भेक्स मिररको बारेमा जानकारी गराउँदै आएका छन् । ‘चालकहरुबाट पनि राम्रो प्रतिक्रिया पाएका छौँ, ट्राफिक प्रमुख आचार्यले भने– ‘यसले ध्वनी प्रदुर्षण र सडक दुर्घटनामा कमि आउने सबैको विश्वास छ ।’ कन्भेक्स मिररका लागि अहिलेसम्म १० लाख रुपैयाँभन्दा बढी खर्च भईसकेको संस्थाले जनाएको छ । मोडहरुमा राखिएको मिरर गाड्नका लागि सडक डिभिजन पाल्पाले फलामका पोलहरु सहयोग गरेको छ ।