समाजसेवीको निधनमा राष्ट्रिय शोक

368

समाजसेवीको निधनमा राष्ट्रिय शोक

इस्लामावाद, २५ असार । पाकिस्तानका एकजना वरिष्ठ समाजसेवी अब्दुल सतार एधीको ९२ वर्षको उमेरमा शुक्रबार राति निधन भएको  छ ।
पाकिस्तानको कराची सहरमा रहेको एक अस्पतालमा उहाँको उपचार जारी रहेकोमा शुक्रबार राति उहाँको निधन भएको उहाँका छोरा फैजल एधीले जानकारी दिनुभएको छ ।

उहाँलाई शुक्रबार बिहानदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । छोरा फैजलले शुक्रबार राति निधन भएको जानकारी दिनुभएको हो । उहाँले स्थापना गर्नुभएको संस्थाले पाकिस्तानका कैयौं असहाय तथा गरिब बालबालिका तथा नागरिकलाई सहयोग गर्दै आएको छ ।

उहँलाई पाकिस्तानमा एक बरिष्ठ समाजसेवीका रुपमा सम्मान गर्ने गरिन्छ । उहाँलाई विभिन्न उच्चस्तरीय नागरिक सम्मान पनि प्रदान गरिएको छ । पाकिस्तानका राष्ट्रपति ममनुन हुसेन, प्रधानमन्त्री नवाज शरिफ, पाकिस्तानका विभिन्न राजनीतिक दलका नेताहरुलगायतले उहाँको निधनप्रति दुःख व्यक्त गर्दै शनिबार बिहान उहाँप्रति श्रद्धान्जली अर्पण गर्नुभएको छ ।

एधी फाउन्डेशन उहाँको नाममा उहाँले नै स्थापना गर्नुएको संस्था हो । यस संस्थाले पाकिस्तानमा स्वास्थ्य, शिक्षाका क्षेत्रमा उल्लेखनीय काम गरेको छ । पाकिस्तानको सबैभन्दा ठूलो यस संस्थामार्फत पाकिस्तानका गरिब गुरुवा लाभान्वित भएका छन् । यसले गरिबहरुका लागि निशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने गरेको छ ।

राष्ट्रिय शोकको घोषणा

यसैबीच प्रधानमन्त्री नवाज शरिफले पाकिस्तानमा शनिबार राष्ट्रिय शोकको घोषणा गर्नुभएको छ । पाकिस्तानका वरिष्ठ समाजसेवी एधीको निधनप्रति दुःख व्यक्तगर्दै उहाँको निधनप्रति शनिबार शोकको घोषणा गरिएको हो । शनिबार पाकिस्तानको झण्डा आधा झुकाइने छ भने पाकिस्तानमा रहेका र विदेशस्थित सबै कूटनीतिक नियोग र कार्यालयहरु शनिबार बन्द रहने पनि बताइएको छ ।

उहाँले पाकिस्तानका हजारौँ हजार सहाराबिहीन नागरिकलाई सहारा दिई मानवीय सेवाको एक उत्कृष्ट नमूना प्रस्तुत गर्नुभएकोले उहाँको निधनप्रति दुःख मनाउ गर्दै राष्ट्रिय शोकको घोषणा गरिएको सरकारले जनाएको छ । रासस÷एएफपी