राजश्व सम्बन्धी प्रशिक्षण

463

राजश्व सम्बन्धी प्रशिक्षण

kar
मणिग्राम, २५ असार । तिलोत्तमा व्यापार संघ मणिग्राम रुपन्देही र आन्तरिक राजश्व कार्यालय भैरहवाको संयुक्त आयोजनामा आज व्यापारीहरुलाई राजश्व सम्बन्धी प्रशिक्षण दिइएको छ ।

तिलोत्तमा व्यापार संघमा आवद्ध व्यापारीहरुलाई कर संरचना, करदाताले ध्यान दिनुपर्ने कुराहरु, करदाताको कर दायित्व गणना तथा आर्थिक विधेयक २०७३ ले आयकर, मुल्य अभिवृद्धि कर तथा अन्तशुल्क कानुनहरुमा गरेका संशोधित व्यवस्थाहरुका बारेमा जानकारी गराइएको थियो ।

व्यापारीहरुलाई करका बारेमा जानकारी गराउँदै आन्तरिक राजश्व कार्यालय भैरहवाका कर अधिकृत धनिश्वर अर्यालले विद्यमान कर प्रशासन र आर्थिक ऐनको परिधिभित्र रही व्यवसाय सञ्चालन गर्न आग्रह गर्दै राज्यलाई कर तिर्नुपर्छ भन्ने भावनाका साथ काम गर्न आग्रह गर्नुभयो ।

साना करदाताले विद्यमान कर प्रणालीको जानकारीको अभावले कर भन्दा जरिवाना बढी तिर्ने गरेको उदाहरण दिंदै उहाँले वस्तुको कारोबारमा ५० लाखभन्दा कम र सेवाको हकमा २० लाख भन्दा कम कारोबार गर्ने भएमा भ्याट खारेजको निवेदन दिन अनुरोध गर्नुभयो ।

कार्यक्रममा बोल्दै रुपन्देही व्यापार संघका अध्यक्ष मोतिलाल पाण्डेले कर असुल गर्ने नाममा कतिपय अवस्थामा व्यवसायीहरुलाई तर्साउने र हतोत्साही बनाउने काम भएकोले यसतर्फ आन्तरिक राजश्व कार्यालयले व्यवसायीको संवेदनशीलतालाई पनि बुझिदिनुपर्ने बताउनुभयो ।
तिलोत्तमा व्यापार संघका सल्लाहकार रोहितराज क्षेत्रीले कर प्रणाली र यसबारेको जानकारीको अभावले व्यवसायीहरु कर तिर्ने अझैपनि हच्किने गरेको भन्दै यसप्रति जनचेतना अझै वृद्धि गर्नुपर्ने खाँचो औंल्याउनुभयो ।

तिलोत्तमा व्यापार संघका अध्यक्ष झविन्द्रप्रसाद कंडेलले राजश्व कार्यालय र व्यवसायीहरुबीच नङ मासुको सम्बन्ध हुनुपर्नेमा जोड दिंदै व्यवसायीहरु आफ्नो कारोबारको आधारमा कर तिर्न पछि नपर्ने बताउनुभयो । कार्यक्रममा संघका द्वितीय उपाध्यक्ष बाबुलाल भुसाल, महासचिव रामचन्दन्र पाण्डे लगायतले पनि करका विषयमा आ–आफ्नो धारणा राख्नुभएको थियो ।