ओलीले राजीनामा गर्न ढिला गरे अविश्वासको प्रस्ताव : काँग्रेस

169

ओलीले राजीनामा गर्न ढिला गरे अविश्वासको प्रस्ताव : काँग्रेस

congressकाठमाडौँ, २९ असार । नेपाली काँग्रेसले नयाँ सरकार गठनका लागि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सँग भएको सहमतिलाई अनुमोदन गरेको छ ।

नयाँबानेश्वरस्थित संसद् भवनमा आज बसेको काँग्रेस केन्द्रीय समिति बैठकले माओवादी केन्द्रसँग भएको सहमतिलाई सर्वसम्मतले अनुमोदन गरेको नेता दिलेन्द्रप्रसाद बडूले जानकारी दिनुभयो ।

मङ्गलबार माओवादी केन्द्रले वर्तमान सरकारबाट समर्थन फिर्ता लिएपछिको बदलिंदो राजनीतिक परिस्थितिका बारेमा छलफल गर्न काँग्रेसले बैठक बोलाएको थियो ।

काँग्रेसले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा संयुक्त सरकार गठन गरी अघि बढ्ने सहमति गरेको थियो ।

बैठकमा नयाँ सत्ता गठबन्धनका बारेमा काँग्रेस र माओवादी केन्द्रबीच भएको सात बुँदे सहमतिका सम्बन्धमा केही नेताले पार्टीमा छलफल नगरी अघि बढाएको भन्दै सभापतिसँग असन्तुष्टि व्यक्त गरेका थिए ।

समर्थन फिर्तापछि वर्तमान सरकार अल्पमतमा परेकाले प्रधानमन्त्री केपी शर्मा ओलीसामु राजीनामा गर्नुपर्ने, विश्वासको मत लिनुपर्ने र अविश्वास प्रस्तावको सामना गर्नुपर्ने विकल्प रहेको बैठकमा छलफल भएको थियो ।

तीनै विकल्पमध्ये राजीनामा नै उत्तम विकल्प रहेको बैठकले निर्णय गरेको उहाँले बताउनुभयो । बैठकले प्रधानमन्त्री ओलीले राजीनामा गर्न ढिला गरे अविश्वासको प्रस्तावको सामना गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

पार्टीले नयाँ बन्ने समीकरणले संविधान कार्यान्वयनका लागि असन्तुष्ट पक्षसँग वार्ता गर्ने, शान्ति प्रक्रियाका बाँकी काम सहमतिका आधारमा टुङ्ग््याउने, कालोबजारी, अभाव, महँगी अन्त्य गरी सुशासन कायम गर्नेलगायत काम अघि बढाउने निर्णय गरेको नेता बडूले बताउनुभयो ।

राजीनामा पर्खिरहेका छौँ : देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकार अल्पमतमा परेको हुँदा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिने विश्वास व्यक्त गर्नुभएको छ ।

नेका संसदीय दल तथा काठमाडौँमा उपलब्ध केन्द्रीय सदस्यसहितको आज बसेको संयुक्त बैठकबाट बाहिरिने क्रममा उहाँले नेकाले प्रम ओलीको राजीनामा पर्खिरहेको सङ्क्षिप्त प्रतिक्रिया दिनुभयो ।

नयाँ बानेश्वरस्थित संसद्भवनमा सो बैठक बसेको थियो । प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहनुभएका सभापति देउवाले एमाले त तपार्इंलाई प्रम पदमा प्रस्ताव एवम् समर्थन गर्दैछ हो ? भन्ने जिज्ञासामा सो प्रस्ताव ढिलो भयो भन्ने जवाफ दिनुभयो ।

उहाँले संविधान कार्यान्वनका लागि दलहरुका बीचमा सहमति र सहकार्य आवश्यक भएकामा जोड दिनुभयो । दोस्रो संविधानसभाको निर्वाचनमा नेका सदनमा पहिलो पार्टीका निर्वाचित भएको थियो । सदनमा उसको २०७ सिट छ ।

सत्ता साझेदार नेकपा(माओवादी केन्द्र)ले मङ्गलबार सरकारबाट बाहिरिने निर्णय गरेसँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा नयाँ सरकार गठन गर्न नेका र केन्द्रका बीचमा सहमति भएको छ ।