रेसुङ्गामा श्रद्धालुको घुइँचो

1.3K

रेसुङ्गामा श्रद्धालुको घुइँचो

resungaगुल्मी, ३१ असार । हरिशयनी एकादशीको दिन गुल्मीको धार्मिकस्थल रेसुङ्गा र रुद्रवेणी धाममा पूजाआजा र स्नान गर्न जाने श्रद्धालुको आज बिहानैदेखि घुइँचो लागेको छ ।

रेसुङ्गा पोखरी र कालीगण्डकी नदीमा स्नान गर्नाले चारधाम जान नपर्ने र आफूले अन्जानमा गरेका सम्पूर्ण पाप समेत नष्ट भई समृद्धि प्राप्त हुने धार्मिक विश्वासका कारण उक्त क्षेत्रमा पूजाआजा र स्नान गर्न जाने श्रद्धालुको घुइँचो लाग्ने गरेको हो ।

चारधामबाट ल्याएको जल रेसुङ्गा पोखरीमा राखिएको हुँदा रेसुङ्गा पोखरीमा स्नान गर्नाले चारधाम जान पर्दैन भन्ने मान्यता रहिआएको हुँदा श्रद्धालुले पोखरीमा स्नान गरेपछि यज्ञशाला मन्दिरमा पुगेर पूजाआजा गर्ने र घर फर्किसकेपछि मैरीमा तुलसी रोप्ने प्रचलन छ ।

हरिशयनी एकादशीमा पूजाआजा गर्नका लागि गुल्मीसँगै पाल्पा, बागलुङ, अर्घाखाँची, स्याङ्जालगायतका जिल्लाबाट समेत श्रद्धालुकोे बाक्लो उपस्थिति रहने रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले बताउनुभएको छ ।