न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न युनियनको माग

315

न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न युनियनको माग

बुटवल, १ साउन । नेपाल प्रेस युनियन रुपन्देहीले सरकारले लागु गरेको पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न संचार गृहहरुलाई आग्रह गरेको छ । हालै मात्रै सरकारले राजपत्रमा उल्लेख गरेको सञ्चारकर्मीको न्यूनतम पारिश्रमिक तत्काल लागु गर्न युनियनले आग्रह गरेको हो ।

त्यस्तै सरकारले पनि सञ्चार प्रतिष्ठानहरुले न्यूनतम पारिश्रमिक कार्यान्वयन गरे नगरेको अनुगमन गर्न र निर्णय कार्यान्वयन नगर्ने सञ्चार गृहलाई कारवाहीको दायरामा ल्याउन समेत माग गरिएको सचिव कबिन्द्र नेपालले जानकारी दिनुभयो । युनियन रुपन्देहीको शनिबार बुटवलमा बसेको कार्यसमितिको बैठकले यही साउनको ६ गते परेको बीपी स्मृति दिवसको अवसर पारेर बृक्षरोपण गर्ने निर्णय गरेको छ ।

युनियनको केन्द्रीय समितिको कार्यक्रम अनुसार बृक्षरोपण गर्ने निर्णय गरिएको हो । बृक्षरोपण कार्यक्रमका लागि स्थान छनौट लगायत तयारीका काम गर्नका लागि सहसचिव झविन्द्र देवकोटाको संयोजकत्वमा ५ सदस्यीय समिति बनाईएको छ ।

समितिका सदस्यहरुमा कार्यसमिति सदस्यहरु कपिल ज्ञवाली, रमेश अर्याल तथा साधारण सदस्यहरु मीना पौडेल र सुरेन्द्र परियार रहनु भएको छ । युनियन रुपन्देहीले संगठन सुदृढीकरण लगायतका कार्यक्रम पनि अंगाडी सारेको छ ।

बैठकले युनियनका पार्षद डिल्लीनारायण पाण्डे लोक तथा दोहोरी गीत प्रतिष्ठानको लुम्बिनी अञ्चल अध्यक्षमा तथा कार्यसमिति सदस्य दिनेश खड्का सदस्य पदमा निर्वाचित भएको बधाई ज्ञापन गरेको छ । त्यसैगरी लोक तथा दोहोरी गीत प्रतिष्ठानले युनियनका सल्लाहकार खिमानन्द भट्टराई र पूर्व केन्द्रीय परामर्श दाता राधेश्याम राजभण्डारीलाई गरेको सम्मान तथा जिल्ला खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिले संस्थाका सभापति बिक्रम खड्कालाई सम्मान गरेकोमा ती संस्थाप्रति आभार प्रकट गर्दै सम्मानितलाई बधाई ज्ञापन गरेको छ ।

युनियन रुपन्देहीका सभापति बिक्रम खड्काको सभापतित्वमा भएको बैठकले प्रेस स्वतन्त्रता सेनानी पं. बाबुराम भट्टराईको निधनमा दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेको छ ।