झडपमा एक सय एकसठ्ठी जनाको मृत्यु, चौध सयभन्दा बढी घाइते
टर्की, १ साउन । टर्कीका प्रधानमन्त्री विनाली यिल्दिरिमले मुलुकमा भएको सैनिक विद्रोह ‘कु’ को प्रयास हुँदा भएको झडपमा मृत्यु हुनेको सङ्ख्या १६१ पुगेको शनिबार बताउनुभएको छ ।
घटनामा एक हजार ४४० जना घाइते भएका छन् भने सरकारले दुई हजार ८३९ सैनिक अधिकारीलाई विद्रोहमा संलग्नता रहेको आरोपमा सुरक्षा नियन्त्रणमा लिएको प्रधानमन्त्री यिल्दिरिमले बताउनुभएको छ ।
विद्रोह प्रयासमा संलग्न दुई हजार ८३९ सेनालाई नियन्त्रणमा लिइएको छ भने थप केही सेनालाई विद्रोह प्रयासमा सघाएको आरोपमा सुरक्षा नियन्त्रणमा लिने क्रम अझै जारी छ ।
यसैबीच शुक्रबारकोे ‘कु’ प्रयास नियन्त्रणभित्र आइसकेको बताउँदै यस घटनाबारे छलफलका लागि शनिबार दिउँसो आकस्मिक रुपमा संसदीय बैठक बोलाइएको छ ।
प्रधानमन्त्रीले इस्लामिक धर्मनेता फेतुल्लाह गुलेनलाई सहयोग गर्ने कुनै पनि मुलुक टर्कीको असल मित्र हुन नसक्ने बताउनुभएको छ ।
गुलेनका समर्थकले सैनिक विद्रोह गराउने प्रयास गरेको टर्कीका सरकारी अधिकारीले बताएका छन् ।
गुलेन संयुक्त राज्य अमेरिकामा आफ्नै इच्छाले केही वर्षदेखि निर्वासनमा रहँदै आउनुभएको छ । रासस÷सिन्ह्वा