काठमाडौं । टर्कीमा सेनाको एक समूहले गरेको सैन्य ‘कू’ को असफल प्रयासपछि प्रजातन्त्रको रक्षाको माग गर्दै हजारौं नागरिक प्रदर्शनमा उत्रिएका छन् ।
इस्तानबुलसहित देशका मूख्य शहरमा ठूलो संख्यामा नागरिक प्रदर्शनमा उत्रिएर ‘कू’ मा संलग्न सबैलाई फाँसी दिनसमेत माग गरेका छन् ।
सेनाको एक समूहले गरेको ‘कू’ को प्रयास २४ घण्टाभित्र सरकारले असफल बनाएको थियो । शुक्रबार राति सो घटना भएपछि २४ घण्टाभित्र पूरै स्थिति सरकारले नियन्त्रणमा लिएको थियो ।
संसदको विशेष सत्रपछि राष्ट्रपति रिसेप टाइप एर्डोगानले समर्थकलाई सम्बोधन गर्दै अमेरिकामा रहेका ७५ वर्षे धर्म गुरु फतहुल्लाह गुलेन ‘कू’ गराउन संलग्न रहेको भन्दै उनलाई कारवाही गरिनुपर्ने बताए ।
अमेरिकाले धर्मगुरु गुलेनविरुद्ध कुनै पनि प्रमाण भए त्यसलाई सार्वजनिक गर्न आग्रह गरेको छ ।
यसैबीच कू को प्रयास असफल भएपछि दुई हजार ८ सय ३९ सैनिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सैनिक जर्नेल पनि छन् । यसैगरी टर्किस सरकारले दुई हजार सात सय ४५ जना न्यायाधीशलाई बर्खास्त गरेको छ ।
शुक्रबार राति सेनाको एक समूहले गरेको कू को प्रयासपछि भएको झडपमा सर्वसाधारण नागरिक र प्रहरी गरी एक सय ६१ जनाको मारिएका छन् । जसमा कू मा संलग्न एक सय चार जना सैनिक पनि समावेश छन् ।
घटनामा १४ सय ४० जना घाइते भएको स्थानीय सरकारी अधिकारीलाई उधृत गर्दै बीबीसी र डेली मेलले जनाएका छन् ।टर्कीमा यसअघि चार पटक सैन्य कू भएका थिए ।