आयोगको उपलब्धी ७३८ घटनामा कारबाही सिफारिस

226

आयोगको उपलब्धी ७३८ घटनामा कारबाही सिफारिस

काठमाडौँ, ६ साउन । राष्ट्रिय मानव अधिकार आयोगले स्थापना कालदेखि अहिलेसम्ममा मानव अधिकार उल्लङ्घनका ७३८ घटनामा कारबाहीका लागि सरकारलाई सिफारिस गरेको जनाएको छ ।

विसं २०५७ जेठ १३ गते स्थापना भएपछि आयोगले मानव अधिकार उल्लङ्घनका सन्दर्भमा आव २०७१÷०७२ सम्ममा ७३८ घटनामा कारबाहीका लागि सिफारिस गरेको आयोगका सदस्य मोहना अन्सारीद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

आयोगले गरेका ७३८ सिफारिशमा दोषीको नाम किटान नै गरी कारबाहीका लागि गरिएका सिफारिसको सङ्ख्या भने ७८ रहेको छ ।

त्यसैगरी, दोषी पहिचान गरी कारबाही गर्न नेपाल सरकारसमक्ष लेखी पठाइएका सिफारिस सङख्या २६३ छ भने प्रचलित कानुनबमोजिम कारबाही गर्नुपर्ने सिफारिस ५१ रहेको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

आयोगले फौजदारी अभियोगमा कारबाही गर्न पठाइएका सिफारिस सङ्ख्या ३५ र अनुसन्धान गरी कारबाही गर्न पठाइएका सिफारिस सङ्ख्या २७ रहेको छ । आवश्यक कारबाहीका लागि मात्र पठाइएका सिफारिस सङ्ख्या ३२ छ ।

क्षतिपूर्ति दिन लेखी पठाइएका सिफारिस सङ्ख्या ५१२ रहेको विज्ञप्तिमा जनाइएको छ ।