दिवसलाई आन्दोलनको रुपमा मनाउन मगर अगुवाहरुको जोड

615

दिवसलाई आन्दोलनको रुपमा मनाउन मगर अगुवाहरुको जोड

बुटवल, ६ साउन । आदिवासी जनजातिको अधिकार सुनिश्चितका लागि विश्व आदिवासी दिवसलाई आन्दोलनको रुपमा मनाउंनुपर्नेमा मगर अगुवाहरुले जोड दिएका छन् ।

उनीहरुले नीति, निर्माण र कार्यान्वयन गर्ने तहमा पनि आदिवासी जनजातिको पहुंच हुनुपर्ने बताएका छन् । नेपाल मगर संघ, बुटवल उपमहानगरपालिका समितिको आयोजनामा बुटवलमा भएको भेलामा बोल्ने मगर अगुवाहरुले उक्त कुरामा जोड दिएका हुन् ।

भेलामा बोल्दैं नेपाल मगर संघ, जिल्ला कार्य समिति, रुपन्देहीका सदस्य क्या.जनक थापामगरले हरेक निकायमा मगरहरुको समानुपातिक प्रतिनीधित्व भए मात्र मगरको न्याय हुंने बताउंनुभयो । कार्यक्रममा आदिवासी जनजाति पत्रकार मञ्च, नेपालका अध्यक्ष टेकबहादुर मास्कीराना, संघका सल्लाहकारहरु भोजबहादुर बुढाथोकी, क्या.मानबहादुर थापामगर, धनी आले लगायतले बोल्नुभएको थियो ।

कार्यक्रम संघका अध्यक्ष गोपाल चौहानमगरको अध्यक्षता, सचिव थर्कबहादुर
बाह्रघरेमगरको सञ्चालन तथा उपाध्यक्ष बसन्ती साठीघरेमगरको स्वागतमा सम्पन्न भएको थियो ।
भेलाले विश्व आदिवासी दिवसलाई सफल पार्न नगरबाट बढि–बढि मगर सहभागिता गराउंने, लोक सेवा आयोगको कक्षा सञ्चालन गर्ने, कार्यालय मर्मत तथा व्यवस्थापन गर्ने निर्णय पनि गरिएको छ ।

संघको नयां नेतृत्व आएपछि
भएका कार्यको समिक्षा र आगामी कार्ययोजना समेत तयार गरि अघि बढ्ने भेलाले निर्णय गरेको छ । नेपाल आदिवासी जनजाति महासंघ, रुपन्देहीले (९ अगष्ट )साउन २५ गते मनाउंन तयारी गरिएको विश्व आदिवासी दिवस–२०७३ को विषयमा मगर संघको निर्णय बाहिर आएको हो ।