आविस्कारका लागि ३७ लाख

261

आविस्कारका लागि ३७ लाख

pun

म्याग्दी, ८ साउन । महावीर पुनले सुरू गरेको राष्ट्रिय आविस्कार केन्द्र बनाउने अभियानमा दैनिकजसो सहयोग जुट्ने क्रम जारी छ ।

सरकारी दैलोमा धाउँदा पटकपटक आश्वासन बाहेक केही नपाएका पुनले जनताको सहयोगबाट केन्द्रको स्थापना गर्ने घोषणा गरेपछि सुरु भएको आर्थिक सहयोग अभियानमा हालसम्म रु ३७ लाख सङ्कलन भएको बताउनुभयो ।

म्याग्दीका समाजसेवी एवम् ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्य र उनको धर्मपत्नी रेश्मा शाक्यले सोही अभियानका लागि रु १० हजार १०५ सहयोग गर्ने क्रममा पुनले सो कुरा बताउनुभएको हो ।

शुक्रबार ठमेलस्थित पुनको नेपाल कनेक्सन क्याफेमा एक कार्यक्रम गरी शाक्य दम्पतीले उक्त रकम हस्तान्तरण गर्नुभएको थियो । परोपकारी संस्था ओम कुमारी शान्ति कोषका अध्यक्ष एवम् म्याग्दी उद्योग वाणिज्य सङ्घका महासचिव समेत रहनु भएका शाक्यले राष्ट्रिय अभियानमा व्यक्तिगत सहयोगमार्फत सहभागिता जनाएको र आगामी दिनमा संस्थागगत सहभागिता जनाउने प्रतिबद्धता जनाउनुभएको थियो ।

शाक्यले आर्थिक समस्याका कारण उपचारबाट वञ्चित भएका हरेक म्याग्देलीलाई व्यक्तिगतरुपमा प्रतिव्यक्ति रु पाँच हजार सहयोग गर्ने गर्नुभएको छ ।

रकम हस्तान्तरण कार्यक्रममा सन् २००७ मा एसियाको नोबेल पुरस्कार भनेर चिनिने म्यागासेसे पुरस्कार बिजेता पुनले पटकपटकका सरकारले आश्वासन दिएकै कारण आविस्कार केन्द्रको अभियानमा ढिलाइ भएको बताउँदै जनताको सहयोगबाटै केन्द्रको स्थापना गरेर देखाउने बताउनुभयो । उहाँले हरेक दिन आइरहेको सहयोगबाट अभियान जनताकै सहयोगबाट सम्भव छ भन्ने आत्मविश्वास समेत बढेको छ भन्नुभयो । पुनले जनताको सहयोगबाट नै रु ५० करोड सङ्कलन गरेर केन्द्रको स्थापना गर्ने र समृद्ध नेपाल बनाउने आफ्नो योजना रहेको सुनाउनुभयो ।

केन्द्र विज्ञान, प्रविधिसँग मात्रै केन्द्रित नभई कृषि, पर्यटन, जलविद्युत्सहित नेपालमा उत्पादन हुने सबै उत्पादनमा केन्द्रित हुने उहाँको भनाइ थियो । पुनले अभियानमा साथ दिन स्वदेश तथा विदेशमा रहेका नेपालीलाई अनुरोध गर्नुभएको छ । रासस