स्मारक बन्न थप चार वर्ष लाग्ने

270

स्मारक बन्न थप चार वर्ष लाग्ने

काठमाडौँ, ९ साउन । मुलुकमा स्वतन्त्रता प्राप्तिका लागि बलिदानी दिने सहिदका नाममा निर्माण भइरहेको राष्ट्रिय सहिद स्मारकको समय चार वर्ष थपिएको छ ।

शान्ति तथा पुनःनिर्माणमन्त्री एकनाथ ढकालले यही साउन ७ गते मन्त्रिस्तरीय निर्णय गरी विसं २०७७ जेठ ११ गतेसम्म स्मारक निर्माणको समय थप्नुभएको हो । चारवर्षीय अवधिमा सहिद स्मारकका सम्पूर्ण संरचनासहित पाँच सहायक स्मारक पनि निर्माण गरिसक्नुपर्ने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका उपसचिव चन्द्रकान्त पौडेल सहिद स्मारक निर्माणलाई सहज र छिटो गर्न राष्ट्रिय सहिद तथा शान्ति स्मारक निर्माण एवम् व्यवस्थापन कार्यविधि २०७२ स्वीकृत गरिएको जानकारी दिनुहुन्छ ।

यसअघि विसं २०७२ चैत मसान्तसम्म स्मारकका सबै संरचना निर्माण सकी विसं २०७३ वैशाख १ गते सञ्चालनमा ल्याउनुपर्ने समय तोकिएकामा भूकम्प, नाकाबन्दी एवम् ठेकेदारको ढिलासुस्तीले काम सम्पन्न गर्न नसकिएको अध्यक्ष सुदर्शन सिग्देलले जानकारी दिनुभयो ।

“स्मारकमा सहिदको सम्झनामा स्मृतिस्थल र सङ्ग्रहालय बन्नेछ, पाँच वटा सहायक स्मारकमा बूढानीलकण्ठ नगरपालिकाको पञ्चकन्या सामुदायिक वनमा विसं २००७ देखि २०४६ सम्मका सहिदको स्मृतिमा स्मारक, बूढानीलकण्ठ नगरपालिका र गोकर्णेश्वर नगरपालिकाका पुतलीडाँडा, गुठसल्लाघारी, गाम्चा र बाटुलेसिम सामुदायिक वन र बूढानीलकण्ठ नगरपालिकाको रातमाटे सामुदायिक वनमा पृथ्वीनारायण शाहको गढीको पुनःनिर्माण, खेलकुदग्राम र सशस्त्र जनयुद्धका सहिदको स्मारक बनाइनेछ”–उहाँले भन्नुभयो ।
गोकर्णेश्वर नगरपालिकाको चिहानडाँडा सामुदायिक वनमा मधेस आन्दोलनका सहिदको सम्झनामा स्मारक र कागेश्वरी मनोहरा नगरपालिकाको आलापोट सामुदायिक वनमा लोकतान्त्रिक आन्दोलनका सहिदको सम्झनामा स्मारक चारवर्षीय अवधिमै सम्पन्न हुनेछ ।

मन्त्रिपरिषद्ले विसं २०६४ जेठ ११ गते गोकर्णको यज्ञडोल (जगडोल) सामुदायिक वन क्षेत्रको ६५० रोपनी क्षेत्रफलमा राणा शासनको अन्त्यदेखि हालसम्मका सहिदको स्मृतिमा स्मारक निर्माण गर्ने निर्णय अनुरुप निर्माण कार्य भइरहेको छ ।
शान्ति तथा पुनःनिर्माण मन्त्रालय अन्तर्गत द्वन्द्वोत्तर शान्ति तथा पुनःनिर्माण परियोजनाका रुपमा सहिद स्मारक निर्माण भइरहेको हो । राष्ट्रिय प्राथमिकताप्राप्त योजनाका रुपमा स्मारक निर्माणको काम भएको निर्माण समितिले जनाएको छ ।