नेविसङ्घको महाधिवेशनका लागि निर्देशन समिति

176

नेविसङ्घको महाधिवेशनका लागि निर्देशन समिति

nebisang

काठमाडौँ, १० साउन । नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्न सहयोग गर्ने उद्देश्यले पाँच सदस्यीय निर्देशन समिति गठन भएको छ ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सङ्घको तदर्थ समितिलाई सहयोग गरी महाधिवेशन गर्न ‘नेपाल विद्यार्थी सङ्घ महाधिवेशन केन्द्रीय निर्देशन समिति’ गठन गर्नुभएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

पार्टीको विधान, २०१७ (संशोधन र परिमार्जित)को धारा २४ (६) बमोजिम पार्टीका केन्द्रीय सदस्य डा प्रकाशशरण महतको संयोजकत्वमा समिति गठन भएको हो ।

समितिमा केन्द्रीय सदस्यहरु गोविन्द भट्टराई, किशोरसिंह राठौर, गुरुराज घिमिरे र प्रदीप पौडेल सदस्य रहनुभएको छ ।

विसं २०६४ मा दुई काँग्रेसबीच एकीकरण भएपछि सङ्घको महाधिवेशन हुन सकेको छैन । एघारौँ महाधिवेशनका लागि साउन २३ देखि २५ को मिति तय भएको छ । “सभापति देउवाले निर्देशन समितिलाई कुनै पनि बहानामा महाधिवेशन नरोक्न निर्देशन दिनुभएको छ” – मुख्यसचिव पौडेलले भन्नुभयो ।

सङ्घको ११ जिल्ला र केही निजी क्याम्पसमा विवाद रहेकाले त्यसलाई समाधान गरेर महाधिवेशन गरिने समिति सदस्य गुरुराज घिमिरेले बताउनुभयो । “महाधिवेशनको तयारीका लागि ८५ प्रतिशत काम सकिएको छ, सिराहा, धनुषा, रुपन्देही, कञ्चनपुरलगायत जिल्ला र केही क्याम्पसका समस्या समाधान गरी साउनमै महाधिवेशन सम्पन्न गछौँँ” – उहाँले भन्नुभयो । महाधिवेशन काठमाडौँमा गरिने भएको छ ।