नहर बगाउँदा खेत बाँझै

247

नहर बगाउँदा खेत बाँझै

पाल्पा, १० साउन । अविरल वर्षाका कारण पहिरो आएपछि नहर पुरिँदा चापाकोटका किसानले धान रोप्न पाएका छैनन् ।

साउनको पहिलो साता बितिसक्दा पनि खेत बाँझै छ । धान रोप्न नपाउँदा यहाँका किसान चिन्तत छन् । “बिउ छिप्पिदै गएको छ, रोपाइँ गर्न पाइएन,” दामाचौरका कृषक पदम भट्टराईले भन्नुभयो ।

गएको असार पहिलो साता धुर्कोटवेसी सडक खण्डमा १२० मिटर तथा दामाचौर खण्डमा करिब १५० मिटर पहिरो गएको थियो । नहर मर्मत हुँदै गर्दा पुनः पहिरो जाँदा सोही स्थानमा ठूलो क्षति पुगेको छ । त्यहाँ रु आठ लाखको लागतमा मर्मत कार्य भइरहेको थियो ।

वर्षाले धुर्कोटवेसीमा पुनः १२० मिटर र कर्लुङ खण्डमा ६० मिटर पहिरो गएर नहरमा क्षति पुगेको उपभोक्ता समितिका अध्यक्ष तीर्थ बरालले जानकारी दिनुभयो । “अस्थायीरुपमा नहर मर्मत गरेर साउन अन्तिम सम्ममा पानी ल्याउन सकिन्छ,” उहाँले भन्नुभयो । नहरबाट सिँचित करिब एक हजार रोपनी जमिनमध्ये एक चौथाईमा मात्र रोपाइँ गरिएको छ । नहर मर्मत गर्न उपभोक्ताको श्रमदान र विभिन्न क्षेत्रबाट आर्थिक रकम जुटाउने कार्य भइरहेको बताइएको छ ।