सडक चौडा गर्दा लोपोन्मुख रूख काटियो

1.3K

सडक चौडा गर्दा लोपोन्मुख रूख काटियो

पाल्पा, १३ साउन । पाल्पाको खस्यौली गाविस–७, सिलाङथोकस्थित लोपोन्मुख सिलाङको रूख हटाएपछि स्थानीय बासिन्दा चिन्तित बनेका छन् ।

लोप हुने अवस्थामा रहेको सिलाङको रूख तानसेन–रिडी सडक चौडा गर्ने क्रममा हटाइएको हो । पाल्पा जिल्लामा एउटा मात्र रहेको दाबी गरिएको सिलाङ दशैँको बेला बस्तीमा नै बसाउने ९सुगन्ध फैलाउने० काम गर्दछ ।

सडकको छेउमा रहेको सिलाङले सुगन्ध छरेपछि यस क्षेत्रकै नाम सिलाङथोक राखिएको हो । भैरवस्थानका स्थानीय बासिन्दा राजेन्द्र नेपालले धार्मिक एवम् वैज्ञानिक कारणले समेत महत्वपूर्ण मानिएको सिलाङ हटाउन नहुने भन्दाभन्दै सडक विस्तार गर्ने क्रममा हटाइएकोमा गुनासो गर्नुभयो ।

भैरवस्थान गाविसका स्थानीय बासिन्दा जगदीश श्रेष्ठ पनि सिलाङको रूख हटाएकोमा चिन्तित हुनुभएको छ । सडकको छेउमा रहेको सिलाङ संरक्षण गर्न सकेको भए राम्रो हुने दाबी उहाँको छ ।

सिलाङ हटाएपछि दुखी बनेका स्थानीयवासीको धोको जिल्ला वन कार्यालय पाल्पा र जनउत्थान सामुदायिक लघुवित्त विकास बंैकले ऐतिहासिक भैरवमन्दिरको वरिपरि तीनओटा सिलाङको बिरुवा रोपेर यहाँका स्थानीयवासीको माग पूरा गरिदिएको छ ।

भैरवमन्दिरको वरिपरिका क्षेत्रमा सिलाङ तीन, कपुर ४०, बेल दुई र बोधिचित्त एक ओटा गरी ११० ओटा बिरुवा रोपिएको जिल्ला वन कार्यालय पाल्पाका प्रमुख दधिलाल कँडेलले जानकारी दिनुभयो ।

सिलाङको बिरुवा हामीले अन्य जिल्लाबाट पाल्पा ल्याएर एक वर्षभन्दा बढी समय हुर्काएर मात्र भैरवमन्दिर क्षेत्रमा रोपेको उहाँले बताउनुभयो । पछिल्ला वर्षमा पाल्पा जिल्लामा मौलिक बिरुवाभन्दा जिल्ला बाहिरबाट बिरुवा ल्याएर रोप्ने चलन बढेको छ । रासस