नवलपरासी, १४ साउन । गण्डक नहरस्थित नारायणी नदीमा पानीको बहाव घट्दै गएपछि तत्कालका लागि सम्भावित खतरा टरेको छ ।
नारायणी नदीअन्र्तगत गण्डक ब्यारेजमा पानीको सतह क्रमशः घट्दै गएको छ । पानीको सतह अहिले खतराको सङ्केतभन्दा तल झरेको गण्डक सङ्घर्ष समितिका अध्यक्ष रामवरण केवटले बताउनुभयो ।
यसअघि नारायणी नदीमा पानीको सतह खतराको चिह्न पार गरेर १० दशमवल २० मि सम्म पुगेको थियो भने अहिले घटेर ७ दशमलव ३ मि मा आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । नारायणी नदीमा पानीको सतह ८ दशमवल ४ मि नाघेपछि खतराको सङ्केत मानिन्छ ।
यसैबीच नदीमा पानीको सतह घट्दै गएपछि जनजीवन सामान्य बन्दै गएको छ । गैैँडाकोटमा नारायणीको छाल पस्न छाडेको गैँडाकोट प्रहरीले जनाएको छ । पानीको सतह घटेपनि गण्डक नहरको ठोकरमा भने कटान जारी रहेको छ । ठोकर नं १३ र ठोकर नं ३ का केही स्पर अथवा ब्लक बाढीले बगाएको छ । प्रजिअ महादेव पन्तले नदीमा पानीको बहाव घटेसंगै जनजीवन सामान्य बन्दै गएको बताउनुभयो ।
यसैबीच माछा मार्ने क्रममा खोलामा डुबेर बिहीबार रमपुरवा–३ की ५० वर्षीया बिना मल्लाहको मृत्यु भएको छ । स्थानीय छोट्कीसुनरीस्थित झरही खोलामा माछा मार्न गएकी बिनाको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।