नवलपरासी, १६ साउन । नवलपरासी क्षेत्र नं ४ का सांसद वैजनाथ चौधरीले आफ्नो निर्वाचन क्षेत्रमा बाढीबाट प्रभावित घरपरिवारलाई राहत वितरण गर्नुभएको छ ।
रामग्राम नगरपालिका, सुनवल नगरपालिका, हकुई, शुक्रौली, बन्जरिया, अमरौटलगायतका गाविसमा बाढीबाट भएको क्षति र प्रभावित परिवारसँग भेटघाट गरी शनिबार सांसद चौधरीले बाढीबाट अतिप्रभावितलाई राहत वितरण गर्नुभएको हो ।
सांसद चौधरीले सुनवल नगरपालिकाको सहकार्यमा सुनवलको विसासयका छ, चारपालाका दुई, वडा नं ९ स्वाँठीको छडेनी, पिपरौयालगायतका २३ जनालाई प्रतिघरपरिवार २० किलोका दरले चामल वितरण गर्नुभएको हो ।
दुःखमा परेका नागरिकलाई थोरै भए पनि राहत सहयोग पुगोस् भनेर सो राहत वितरण गरेको सांसद चौधरीले बताउनुभयो । यसैगरी सांसद चौधरीको अनुरोधमा प्याब्सन नवलपरासीले पनि पीडित परिवारलाई २० किलोका दरले ८० बोरा चामल उपलब्ध गराएको छ ।