बुटवल्,१६साउन /प्रमुख दलका शीर्ष नेताहरुले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सहमतीय सरकारको संभावना लगभग समाप्त भएकोले बहुमतीय प्रकिया थाल्न सुझाव दिएका छन्।
राष्ट्रपति भण्डारीले नयाँ सरकार निर्माणबारे प्रमुख दलका शीर्ष नेताहरुसँग आइतबार बिहान परामर्श गरेकी हुन्। छलफलमा राष्ट्रपति सकेसम्म सहमतिकै आधारमा अघि बढ्न आग्रह गरेकी छिन्। उनले सरकार बनाउँदा सहमति संभावना नभए पनि संविधान कार्यान्वयनमा मिलेर अघि बढ्न सुझाव दिएकी छिन्।
छलफलमा सहभागी प्रमुख दलका नेताहरुले सहमतीय सरकार नभए पनि संविधान कार्यान्वयलाई सहमतिकै आधारमा अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरेका थिए।
व्यवस्थापिका संसदमा रहेका दलहरुलाई सहमतीय सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा आइतबार सकिन लागेकोले यसको संभावना र नयाँ प्रकियाबारे छलफल गर्न प्रमुख दलका शीर्ष नेताहरुलाई शीतल निवास बोलाएकी हुन्।
छलफलमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा र मधेसी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदार सहभागी थिए।
संविधानको धारा २ सय ९८ बमोजिम सहमतीय सरकार गठनका लागि राष्ट्रपति भण्डारीले गत साउन १० गते दलहरुलाई आह्वान गरेकी थिइन्। त्यो समयसिमा आइतबार सकिदैछ ।
राष्ट्रपतिले दिएको समयसीमा भित्र सहमतिय सरकार गठन हुन नसकेपछि अब बहुमतिय प्रक्रिया सुरु हुनेछ ।
संभवत : आइतबार नै राष्ट्रपतिले बहुमतीय सरकार गठनका लागि आव्हान गर्नेछिन्। सभामुख ओनसरी घर्तीले सोमबारका लागि व्यवस्थापिका संसदको बैठक बोलाएकी छन् । बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयन गर्न संसद्ले सोमबारदेखि नै प्रकिया प्रारम्भ गर्नेछ।