फेसबुकबाटै दिनदुखीको सेवा

611

फेसबुकबाटै दिनदुखीको सेवा

dhurmus 1
खेमानन्द पाठक/
बुटवल, १८ साउन । तपाई सामाजिक सञ्जाल के का लागि प्रयोग गर्नुहुन्छ ? आफ्ना साथीभाईसँग गफिन वा आफ्ना तस्विर अपलोड गरेर लाईक कमेन्ट पाउन । सायद तपाईमध्ये धेरैले सामाजिक सञ्जाललाई यसैगरि प्रयोग गरिरहनुभएको होला । तर सहयोगी भावना भएका युवाहरुको समुह “ह्यान्सम सुनार एण्ड व्युटिफुल सुनार्नी फेसबुक युथ गु्रप”ले  भने सामाजिक सञ्जालमार्फत गतिलो काम गरेर उदाहरण पेश गरेका छन् ।

कतिपय राष्ट्रहरुमा त यो प्रतिवन्धित पनि छ । तर समाजिक सञ्जाल द्धारा नै यस युथ ग्रुपले भने धेरैलाई उद्धार गरेको छ । विश्वमा फेसबुकले निम्त्याएको विकृतीलाई चुनौती दिदै वि.स.२०७० सालमा स्थापना भई अनलाइन सामाजिक सञ्जाल फेसबुकबाटै यो गु्रपले समाजकै लागि उदाहरणीय र प्रशंसनीय काम गरेका छन् । यस गु्रपमा देशभरीका सहयोगी भावना भएका युवाहरु रहेका छन् ।

सामाजिक कामको शुरुवात जाजरकोटकी गाउ निकाला भई जङगलको कटेरोमा एकल र कष्टकर जीवन विताउन बाध्य एक कुष्ठरोगी वृद्धा शितली कामीलाई आर्थिक सहयोग गरी सामाजिक सञ्जालको हितकारी अभियान शुरु गरेको थियो । ग्रुपले अहिले सामाजिक कार्यको लहर नै चलाएको छ । चट्याङ्ग लागेर घाइते भएकी पोखराकी देवि वि.क.को उपचारमा सहयोग, विश्व रेडक्रस दिवशको अवसरमा पोखरामा खुल्ला रक्तदान कार्यक्रम, पोखराकै एक वृद्धाश्रममा फलफुल तथा खाद्यान्न वितरण गर्नु, नवलपरासी बर्दघाटमा सुनचाँदी व्यवसायी संघसँगको  समन्वयमा रक्तदान कार्यक्रम सम्पन्न गरेर गु्रपले आफुलाई चिनाइसककोे छ ।

यी कार्यहरु सफलतापुर्वक सम्पन्न गरेको यस गु्रपले निरन्तर समाजिक कार्यलाई अगाडी बढाईरहेको छ । वाग्लुङ्ग देविस्थान घर भई गणेश मा.वि. बाट २०७२ सालको एसलसीमा ए प्लस ग्रेडमा पास हुन सफल अभिभावक विहिन छात्रा सिवानी नेपालीलाई  १५ हजार आर्थिक सहयोग सहित सम्मान पत्र प्रदान गरेको थियो ।

त्यसलगतै भुकम्पबाट थला परेको देशलाई पुन निर्माण कार्यमा लागि परेको जोडी धुर्मुस–सुन्तली फाउन्डेशनलाई ३० हजार नगद सहित दुई दिन सम्म १० जनाको समुहले श्रमदान गरी सहयोग पनि गरेको छ । यो समुहले कसैसंग चन्दाअसुली, सहयोग उठाउदै नहिँडी साथीहरुबिच नै पैसा उठाई रकम जम्मा गर्ने गर्छन् ।

सामाजिक सञ्जाल फेसबुक बाट एकिकृत भएका युवा–युवतीहरु मिली बनेको यस गु्रपले सिन्धुपलान्चोकको गिरानचौरमा पुगी श्रमदान गरेका हुन् । सहयोगी भावना भएका युवा समूहका आयुष सुनार, प्रकाश विश्वकर्मा, सरु सुनार, सचिन रसाइली, तान्वी सुनार, रोहित सुनार, सिम्रिक घताने, समिरा ल्वागुन, प्रमोद विश्वकर्मा, सनम सुनार, पवन गहतराज, मनिका विश्वकर्मा, सुस्मिता वि.क.लगायतको सक्रियतामा सामाजिक सञ्जाल मार्फत एक भएका युवाले विभिन्न सामाजिक काम गरेका हुन । युवा पुस्तामा आफ्नै साथीसँगीसँग मात्रै गफिने र रमाईलो गर्ने युवाहरुलाई यो ग्रुपमा समलग्न युवाहरुले भने चुनौती दिएका छन ।

सामाजिक सञ्जालमार्फत फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले गु्रपलाई धन्यवाद दिदै श्रमदान गरेका युवाहरुलाई बधाई ज्ञापन गरे ।
गु्रपका सक्रिय सदस्य प्रकाश विश्वकर्माले शुरुका दिनमा यस्ता कामहरु गर्न सकिन्छ  भनेर नसोचे पनि हाल आएर थुप्रै सामाजिक कार्य गर्न सफल भएको बताउँछन् । ‘इच्छाशक्ति सबभन्दा ठूलो कुरा हो, अब त आँटे गर्न सकिन्छ भन्ने हिम्मत बढेको छ’उनले भनेका छन् । यस्ता युवा जसले फेसबुकबाट समाजसेवा गरेका छन् । यस्तो उदाहरणीय कार्यले सामाजिक सञ्जाल मार्फत अरुले पनि समाजसेवा गर्नुपर्छ भन्ने चेतना जगाउन जरुरी छ ।