बुटवल, १९ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा निवार्चित हुनु भएको छ । दाहाल मुलुकको ३९ औं प्रधानमन्त्री बन्नु भएको छ ।
बुधबार संसदमा भएको मतदान पश्चात सभामुख ओनसरी घर्तिमगरले संसदमा हाल कायम रहेका ५९५ सदस्य मध्ये कुल खसेको ५७३ मतको ३६३ मत पाएर मुलुकको ३९औं प्रधानमन्त्रीमा निर्वाचित भएको घोषणा गर्नुभयो ।
आज भएको मतदानमा एमाले, राप्रपा नेपाल, नेकपा माले, नेमकिपा, नेपाल समता पार्टी लगायतका २१० सांसदले विपक्षमा मतदान गरेका थिए।
उहां कम्युनिस्ट पार्टीहरुमा दोहोरिएर प्रधानमन्त्री बन्ने पहिलो व्यक्ति बन्नु भएको छ । २०६४ मा भएको पहिलो संविधानसभाको निर्वाचनपछि दाहाल पहिलो पटक प्रधानमन्त्री बन्नु भएको थियो । पहिलो पार्टी बनेको माओवादीबाट प्रधानमन्त्री बनेका दाहाल नौं महिना मै सरकारबाट बाहिरिनु भएको थियो ।
प्रधानसेनापति प्रकरणपछी दाहालले राजीनामा दिनु भएको थियो । दोस्रो पटक प्रधानमन्त्री बन्न दाहाललाई संसदको पहिलो दल नेपाली कांग्रेस, मधेसी मोर्चा र साना दलहरुको सहयोग रह्यो ।