विश्व सम्पदा सूचीहरूको अवसान

513

विश्व सम्पदा सूचीहरूको अवसान

जलवायु परिवर्तनले फेरी अर्कोपटक डसेको छ । पारिस्थितिक प्रणाली र जैविक विविधताको दृष्टिकोणले विश्वकै धनीमध्ये एक मानिने अष्ट्रेलियाको ग्रेट ब्यारियर रिफ नामक विश्व सम्पदा क्षेत्रमा सुचीकृत कोरल रिफको एक चौंथाई भागको यसैबर्ष अवसान भएको छ ।

मानवीय हस्तक्षेप भन्दा टाढा रहेको जस्तो लाग्ने रिफको सुदुर उत्तरी क्षेत्रको आयु पनि लगभग आधाजस्तो घटेको अध्ययनले देखाएको छ ।

समुद्र सतहमा देखिएको औषतभन्दा माथि रहेको बढ्दो तापक्रमले भएका जस्ता देखिने यी परिघटना हेर्दा १७५ गुणाभन्दा बढी जलवायु परिवर्तनले भएको देखिन्छ । समूद्रले वायुमण्डलको तापक्रमलाई फर्काउने र सोस्ने भएकाले समूद्रको तापक्रम लगातार बृद्धि भइरहेको हो ।

यसको कारणले ग्रेट ब्यारियर रिफ लगातार क्षतिग्रस्त भइरहेको छ । हाम्रो बहुमुल्यवान् विश्वसम्पदा क्षेत्र र वास्तवमा पृथ्वीको भविष्य जलवायु परिवर्तनको प्रमुख स्रोत हरितगृह ग्यास उत्सर्जनलाई घटाउनुमा अडेको छ ।

अहिलेसम्म पनि प्राय मुलुकका सरकार आफ्नो जिम्मेवारी अनुसार आफ्नो इलाकामा पर्ने महत्वपूर्ण सम्पदाहरूलाई संरक्षण गर्न जलवायु परिवर्तनलाई नियन्त्रणमा राख्न कडा पहल गर्न असफल देखिन्छन् ।

अझैपनि उनीहरूले कोइला बालेर निर्माण हुने विद्युतीय योजनालाई सञ्चालन गर्दै आएका छन् । अष्ट्रेलिया सरकारले कोइलाजन्य उत्पादन र वस्तुको प्रयोगलाई अझै बढावा दिइराखेकाले ग्रेट ब्यारियर रिफजस्ता विश्वसम्पदा हाम्रा आँखा अगाडि अवसान भइरहेका छन् ।

गतबर्ष मात्रै अष्ट्रेलिया सरकारले रिफनजिकै रहेका कार्मीकेल खानी र एवोटपोइन्ट टर्मिनल जस्ता ठूला योजनालाई अगाडि बढाउन दिनुले यस्ता सम्पदाहरू थप जोखिममा परेका छन् ।

कोइलाद्वारा चल्ने विद्युतीय भट्टीले ठूलो मात्रामा हरितगृह ग्यास उत्सर्जन गर्ने मात्रै नभएर गङ्गा र बङ्गालको खाडीको पानीलाई प्रदुषित पार्दा जलचरको जीवन सङ्कटमा पर्छ । यस्तै थिग्रिएको प्रदुषित पदार्थले सामुदिक जीवनको अस्तित्व लामो समयसम्मका लागि रहन सम्भव हुँदैन ।

समुद्रि सतहबाट धेरै माथि नरहेका बङ्गलादेश जस्ता मुलुकले जलवायु परिवर्तनमा खतरनाक भूमिका खेल्ने कोइलाको प्रयोगद्वारा विद्युत निकाल्न सुन्दरवन विश्व सम्पदा क्षेत्रको नजीकमा सरकारी सहयोगमा दुई ठूला विद्युत योजनाको प्रस्ताव गरेको छ । यसलाई भारतले समेत समर्थन गरेको छ ।

यी दुई विद्युत योजनाले ठूलो मात्रामा हरितगृह ग्यासको उत्सर्जन मात्र गर्ने छैनन् यिनले गङ्गा लगायतका केही नदीहरूको सङ्गम बङगालको खाडीमा अवस्थित सुन्दरवन लगायत सुन्दर त्रिभुज आकारका मेनग्रोभ टापु र त्यहाँ बसोबास गर्ने जीवहरुको नास गर्नमा समेत भूमिका खेल्नेछन् ।

संसारबाट लोप हुने पाटे बाघ र नदीमा पाइने डल्फिनको बासस्थानका लागि प्रख्यात उक्त क्षेत्रको विनासले स्वतः यी बहुमुल्यवान् जलचर एवम् थलचरको समेत नास गर्नेछन् ।

यो मान्न सकिन्छ कि बङ्गलादेश उर्जा अभावले ग्रस्त छ र देशको आर्थिक विकाशको लागि अभावलाई सम्बोधन गर्न अतिआवश्यक छ तर यसका विकल्पहरू पनि छन् । नविकरणीय उर्जा उत्पादनको प्रचुर सम्भावनाहरू यहाँ विद्यमान छन् । छानामा जडित सौर्य उर्जा उत्पादन र उपयोग गर्न सकिने देशमा बङ्गलादेश विश्वकै अग्रसुचीमा पर्दछ ।

निश्चयनै मानव प्रेरित जलवायु परिवर्तनका असरहरू न्यून गर्ने दायित्व विश्व सम्पदा क्षेत्र भएका देशहरूको मात्रै होइन तर विश्व सम्पदा रहेका देशहरूले सम्पदालाई सिधै असर पार्ने यस्ता अवशेषबाट उत्पादित योजना अगाडि बढाउने कुरालाई निरुत्साहित गर्नूु पर्दछ ।

हाम्रा प्राकृतिक सम्पदाहरू संरक्षण गर्न सरकारहरू असफल भइरहेका बेला विश्व सम्पदा समिति (डब्लुएचसी) ले पहलकदमी लिई सम्वद्ध सरकारहरूलाई सम्पदाको संरक्षण पहिचान जोखिममा पार्ने तत्वहरू र यिनलाई नियन्त्रण गर्न अपनाउनु पर्ने उपायहरूको बारेमा नियमित जानकारी दिन सहयोग गर्ने र कार्य सम्पादनको अनुगमन गर्नेजस्ता कार्यहरू गर्नुपर्ने देखिन्छ । यस्ता कार्यक्रमको उद्देश्य सधैंभरि फोसिल फ्युल सम्वन्धित चुनौतीहरूको सामना गर्ने क्षमता अभिवृद्धि गर्न सरकारलाई सघाउनुपर्छ ।

डव्लुएचसीका यस्ता कार्यले नागरिक समाजलाई प्रशिक्षित गर्न र शसक्तिकरण गर्न सघाउनुका साथै ठूला विकाश योजनाहरू सम्पन्न गर्न चाहने वित्तीय संस्थाहरूलाई योजनाको नकारात्मक प्रभाव नियन्त्रण गर्ने दायित्व बहन गर्न लगाउन सक्नुपर्छ ।

हालसालै टर्कीको इस्तानबुलमा भएका डब्लुएचसीका बार्षिक बैठकहरू यस्तो प्रयास गर्न उपयुक्त मञ्च हुनसक्छन् ।

साठी हजारभन्दा बढी ब्यक्ति र दर्जनौं संस्थाहरूले बङ्गलादेश र भारतमा सञ्चालन गर्न प्रस्ताव गरिएका ठूला कोइला भट्टीहरू सम्वन्धित प्रस्तावहरू रोक्न याचना गरिसकेका छन् ।

त्यस्तै दर्जनौं प्रसिद्ध वैज्ञानिकहरू, गैरसरकारी संस्थाहरू, अन्तर्राष्ट्रिय र अष्ट्रेलियन कानूनविदहरूले डब्लुएचसीलाई अष्ट्रेलिया सरकारसँग ग्रेट ब्यारियर रिफलाई असर पार्ने खालका गतिविधिहरूलाई रोक्न लगाउन उपयुक्त सल्लाह दिन माग गरेका छन् ।

जलवायु परिवर्तन सिर्जित जोखिमहरू भयावह बन्दैजाँदा डब्लुएचसी जस्ता प्रभावकारी संस्थाले कोइला र अन्य अवशेषजन्य इन्धनहरूमा आधारित विषालु र हानिकारक पदार्थको उत्सर्जन गर्ने गतिविधिहरूमा रोक लगाउन ठोस अडान लिन वा नेतृत्व प्रदान गर्न आवश्यक छ । यस्ता बिषयहरूमा डब्लुएचसी मौन बसेमा विश्वभरिका विश्व सम्पदा सूचीहरू नराम्रोसँग प्रभावित हुने कुरा निश्चित प्रायः छ । रासस

(मार्टिन वाग्नर इन्टरनेशनल प्रोग्राम अफ अर्थ जस्टिसका न्यायाधिवक्ता हुनुहुन्छ । यो संस्था संयुक्त राज्य अमेरिकामा रहेको वातावरण कानून क्षेत्रमा काम गर्ने संस्था हो भने यस संस्थाकी नोनी अस्टिन अष्ट्रेलियाली वकील हुनुहुन्छ ।) अनुबादः दिलीप प्रसाद शर्मा