भैरहवा, १९ साउन । नारीहरुको महानचाड हरितालिका तीज नजिकिदै जादां शहरबजारमा त्यसको रमझम शुरु भइसकेको छ । शहरका ठूला ठूला होटलहरुमा परंपरागत भन्दा भिन्न आधुनिक ढंगले धेरै महिला दिदीबहिनीहरुले मस्तीका साथ तीज मनाइरहेका छन् ।
तीज मनाउने कार्यमा राजनैतिक दलहरुका भगेनी संस्था, विभिन्न आमा समुह, संघसंस्थापनि सक्रिय छन् । आजभोलीको तीज गीत कार्यक्रममा चर्चामा रहेका कलाकारलाई बोलाएर टिकट काटेर प्याकेज तीज कार्यक्रम गरेर पनि मनाउने प्रचलन व्यापक छ । त्यसको रौनक तीज आउन एक महिना बाकीं छदैं शहरमा छाइसकेको छ ।
तर भैरहवामा रहेका महिलाहरु सक्रिय एक संस्थाले भने यसपालिको तीजमा लाग्ने सबै खर्च प्युठानका बाढी पहिरो पीडितलाई दिने घोषणा गरेका छन् । सृजनसील हातहरु नामक संस्थामा क्रियासील महिला दिदीबहिनीले यसपालिको तीजलाई सामन्य रुपमा मनाई तीजको लागि छुट्टाएको खर्च प्युठानका बाढीपहिरो पीडितलाई दिने निश्कर्ष निकालेको संस्थाको अध्यक्ष रमीता थापा मगर (के.सी) ले जानकारी दिइन् ।
अध्यक्ष के.सीले भनिन् ‘प्युठानका दिदीबहिनी आमा बुबा दाजुभाई बाढीपहिरोको कारण आहतमा छटफटाईरहनु भएको छ । त्यस्तो अवस्थामा हामीले कसरी रमाइलो गरी कार्यक्रम गर्ने । हामीले जे सकिन्छ बरु उहांहरुको पीडालाई साम्य पार्न तत्काल केही सहयोग गर्ने निश्कर्ष निकालेर सहयोग गर्न थालेका हौं ।
अध्यक्ष के.सी सहित संस्थाका सक्रिय सदस्यहरु पुजा न्यौपाने, विनीता श्रेष्ठ, मालती लिगल, उमा राना, प्रीया खरेल, सुस्मा वि.क. र भवानी पोखरेल सहितले गरी अहिले सम्म प्रयाप्त राहत नपुगेको प्युठानको माथिल्लो क्षेत्र पुजा, रजबारा, अर्खामा पुराउनेगरी प्युठान रुपन्देही सम्पर्क मन्चलाई १० बोरा चामल, भाडा कुडा, चिउरा, भुजा र तेल सहयोग प्रदान गरेका हुन् ।
संस्थाले केही दिनमा अरु सहयोग पनि थप्ने जानकारी दिएको छ । सृजनसील हातहरुले तीन वर्षदेखी भैरहवामा बृहत किसीमका तीज गीत कार्यक्रम गर्दै आएको थियो । ०७० सालमा तीजको अवसरमा सत्यसाई बृद्धाश्रामलाई ५१ हजार र दांगका बाढी पीडितलाई ५१ हजार सहयोग प्रदान गरेको थियो ।
०७१ सालमा रुपन्देहीको अविनाश अनाथ आश्रम कोटिहवालाई ५१ हजार र भारतमा भएको डिआइडी लिटल मास्टर्स नृत्य प्रतियोगितामा प्रथम भएकी तेरीया फौजा मगरलाई १ लाख सहयोग प्रदान गरेको थियो । उक्त कार्यमा नीमा प्रतिमान स्मृति प्रतिष्ठानको पनि सहकार्य रहको थियो । यसैगरी सोही संस्थाले ०७२ सालको तीजको अवसरमा भुकम्प पीडितलाई २१ हजार नगद र सिद्धार्थ बाल गृह लुम्बिनीरोडलाई २१ हजार सहयोग गरेको अध्यक्ष के.सी.ले जनाईन् ।
सामाजिक क्षेत्रमा क्रियासील उक्त संस्थाले हरेक वर्ष तीजको अवसरमा भैरहवा क्षेत्रका महिला दिदीबहिनीहरुलाई दर खुवाउने कार्यक्रम राख्दै आएको थियो । यसवर्ष भने सो कार्यक्रम नगर्ने जनाएको छ । ३९ जनाको ज्यानै जानेगरी आएको बाढीपहिरोको कारण अहिले प्युठानको बाग्दुला ठूलाबेसी सडक खण्ड अवरुद्ध रहेको छ । पातिहाल्नादेखी माथि सवारी साधन नगएको जानै परे माथी खुंग निस्केर जानुपर्ने भएको छ ।
प्युठानको फोप्लीमा मानवीय क्षति धेरै भएको छ भने अर्खा, पुजा, रजबारामा भौतिक क्षति धेरै भएको छ । सो क्षेत्रका दर्जनौं घरहरु पहिरोले पुरेको छ भने मान्छेहरु साउने वर्षातका बीच पनि छिमेकीकोमा आश्रय लिएर बसीरहको छन् । सो क्षेत्रमा मान्छेरु अहिले पनि त्रसीत र भयभित दैनिकी कटाइरहेका छन् । अहिले सम्म राज्यको कुनैपनि निकाय उक्त क्षेत्रमा पुग्न सकेको छैन ।
यसैबीच प्रतिमान निमा मेमोरियल हेल्थ इन्सीच्युट भैरहवाका कर्मचारी तथा शिक्षकले मिली २० बोरा चामल बाढी पहिरो पीडितलाई दिने उक्त इन्सीच्युटका प्रबन्ध निर्देशक धर्म बहादुर के.सी.ले जानकारी दिएका छन् । प्रतिमान बोहरा विक्रम सम्बत २००८ सालमा प्युठानको बडाहाकिम भएका थिए । बोहराले पुजाकी नीमा के.सीसंग बैबाहिक सम्बन्ध राखेका थिए । उनै दम्पतिको स्मृतिमा प्रतिमान नीमा स्मृति फाउन्डेसन मार्फत प्युठानमा सामाजिक गतिविधी भइरहेको छ । प्रतिमान नीमाका छोरा राष्ट्रिय प्रजातन्त्र पाटिका संसदीय दलका नेता तथा पुर्वमन्त्रि दीपक बोहराले पनि व्यक्तिगत रुपमा आफ्नो मावली गाऊ पुजाका बाढी पहिरो पीडीतलाई सक्दो सहयोग गर्ने सांसद बोहराका स्वकीय सचिव धर्म के.सी.ले जानकारी दिए ।