महामन्त्रीमा आज मात्रै नौजनाले उम्मेदवारी दिने घोषणा

524

महामन्त्रीमा आज मात्रै नौजनाले उम्मेदवारी दिने घोषणा

nebisang

काठमाडौँ, १९ साउन । नेपाल विद्यार्थी सङ्घलाई सही बाटोमा लैजाने प्रतिवद्धतासहित विद्यार्थी नेताले महामन्त्री पदमा उम्मेदवारीको घोषणा गरेका छन् । रिपोटर्स क्लबद्वारा आज आयोजित साक्षात्कारमा सहभागी विद्यार्थी नेताले विगत १० वर्षदेखि अन्योलमा रुमलिएको नेविसङ्घलाई निश्चित दिशा दिने प्रतिवद्धता जनाएका हुन् ।

सङ्घको ११ औँ महाधिवेशन यही साउन २३ देखि २५ गते काठमाडौँमा हुने भएको छ । महाधिवेशन नजिकिँदै गर्दा महामन्त्री पदमा आज मात्रै नौजनाले उम्मेदवारी दिने घोषणा गरेका हुन् । मनोज वैद्य, उर्मिला थपलिया, डिल्लीराज सुवेदी, विनय भट्ट, रमेश रिजाल, प्रचण्ड विक्रम न्यौपाने, हिमाल दत्त श्रेष्ठ, युवराज पाण्डे र मित्र भट्टराईले महामन्त्री पदमा दावी गरेका हुन् ।

प्रत्यासी वैद्यले समग्र शैक्षिक क्षेत्रमा देखिएको विकृति बिसङ्गतीको अन्त्य गर्दै विगत लामो समयदेखि नेविसङ्घमा देखिएको विवाद अन्त्य गर्न आफूले उम्मेदवार दिन लागेको बताउनुभयो । विधिवत् महाधिवेशनको माग गर्दै नेविसङ्घका पूर्व केन्द्रीय सदस्य गणेश सापकोटा र नेविसङ्घ रामेछापका पूर्व उपाध्यक्ष रत्नहरि ढुङ्गेले यही साउन १५ गतेदेखि काँँग्रेस पार्टी कार्यालय सानेपामा आमरण अनशन बस्दै आएका छन् ।

अर्का महामन्त्रीका प्रत्यासी डिल्लीराज सुवेदीले नेविसङ्घ भित्रको गुट–उपगुटको अन्त्य गर्दै सङ्घलाई रूपान्तरण गर्न आफूले उम्मेदवारी दिएको प्रस्ट पार्नुभयो । प्रत्यासी युवराज पाण्डेले नेविसङ्घमा सक्षम नेता र नेतृत्वको निम्ति आफूलाई मतदान गर्न आग्रह गर्नुभयो । महामन्त्रीका प्रत्यासी उर्मिला थपलियाले नेविसङ्घको साङ्गाठानिक सुधारका लागि आफूले उम्मेदावरी दिने बताउनुभयो ।

महामन्त्रीका उम्मेदवार भट्ट, रिजाल, श्रेष्ठ र भट्टराईलगायतले सङ्घभित्र देखिएका विवादलाई समाधान गर्दै २३ गते नै महाधिवेशन सम्पन्न गर्नुपर्ने माग गर्नुभयो । विसं २०६४ मा दुई काँग्रेसबीच एकीकरण भएपछि सङ्घको महाधिवेशन हुनसकेको छैन ।