प्रगतिनगर र देवीनगरमा खानेपानीको समस्या अन्त्य हुने

270

प्रगतिनगर र देवीनगरमा खानेपानीको समस्या अन्त्य हुने

बुटवल, १९ साउन । बुटवल उपमहानगरपालिका वार्ड नं. १३ को प्रगतिनगर र देवीनगरका जनतालाई अव खानेपानीको समस्या अन्त्य हुने भएको छ । उक्त क्षेत्रमा करिव २ हजार ९ सय घर परिवार रहेपनि डिप बोरिङ् गरेर वितरण गरिएको पानी प्रयाप्त थिएन ।

उपभोक्ताको माग भएपनि प्रयाप्त पानीको अभावका कारण वितरण गर्न नसकिएको प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष जीतबहादुर मल्ल बताउनु हुन्छ । बुधबार बिहान संस्थाले कार्यालयमा पत्रकार सम्मेलन गरी सरकारसंगको सह–लगानीमा ओभरहेड टंकी निर्माण गर्न लागेको जानकारी गराएको छ ।

पत्रकार सम्मेलनमा उक्त ओभर हेड टंकी निर्माणको काम सम्पन्न भएपछि माग अनुसार धारा वितरण गर्न सकिने उहाँले बताउनु भयो । उहाँका अनुसार टंकी निर्माणको काम सम्पन्न भएपछि बुटवल १३ को प्रगतिनगर र देवीनगरमा पानीको समस्या अन्त्य हुनेछ । प्रगतिनगर खानेपानी तथा सरसफाई संस्थाले सरकारको ७० र उपभोक्ताको ३० प्रतिशत लगानीमा ९ करोड ६० लाख ७८ हजार ९ सय ४८ रुपैंया लागतमा ४ लाख ५० हजार लिटर क्षमताको ओभर हेड टंकी निर्माण हुँदैछ ।

आगामी ०७५ साल भित्रमा निर्माण सम्पन्न हुने ओभर हेड टंकीको निर्माण कम्पनी रमन, सगरमाथा, भिमेश्वर जे.भि रुपन्देहीसंग सम्झौता भई निर्माणको काम सुरु भईसकेको अध्यक्ष मल्लले बताउनु भयो । उक्त संस्थाले ५ वटा डिप बोर्डिङ् मार्फत एक हजार ५ सय ९३ घर तथा १९ वटा सार्वजनिक स्थानमा धारा जडान गरि पानी वितरण गरेको छ ।

जसबाट करिव ९ हजार जनसंख्या लाभान्वीत भएका छन् । ओभर हेड टंकी निर्माण सम्पन्न भएपछि २० हजार जनसंख्या लाभान्वित हुन सक्नेछन् । ओभरहेड टंकी निर्माणसंगै एउटा डिप बोर्डिङ् पनि थप गरिने छ । उक्त संस्थामा अहिले पनि ३ सय बढी धारा माग भएका निवेदन थन्कीएर बसेका छन् । चर्को लोड सेडिङ्का कारण उपभोक्तालाई प्रयाप्त मात्रामा पानी उपलब्ध गराउन नसकिएकाले थप धारा वितरणको काम रोकिएको हो ।
सरकारसंगको सह–लगानीमा नेपाल भरीमा हालसम्म ७ वटा आयोजना सञ्चालनमा छन् भने रुपन्देहीमा मात्रै आनन्दवन–शंकनगर खानेपानी, शंकनगर खानेपानी, नयाँ गाउँ र पश्चिम कालिकानगर–प्रगतिनगर गरी ४ वटा सञ्चालनमा रहेको खानेपानी महासंघ रुपन्देहीका अध्यक्ष ध्रुवकुमार धितालले बताउनु भयो । उहाँका अनुसार सह–लगानीमा सञ्चालन हुने आयोजना दिगो र प्रभावकारी पनि हुन सक्नेछन् ।