थाइल्याण्डमा तनाव

316

थाइल्याण्डमा तनाव

बैंकक, २९ साउन । थाइल्याण्डमा गत बिहीबार राति र शुक्रबार बिहान यहाँका विभिन्न पर्यटकीय नगरहरुमा शृंखलाबद्ध आक्रमण गरिएपछि तनाव उत्पन्न भएको छ । समाचारअनुसार थाइल्याण्डका बिभिन्न पर्यटकीय नगरहरुमा भएका ती आतङ्कवादी हमलाबाट चार जनाको ज्यान गएको छ भने अरु ३० जनाभन्दा बढी घाइते भएका छन् ।

उक्त हमलामा परी घाइते हुनेमा विदेशी पर्यटक पनि परेका छन् । पर्यटन नै मुख्य उद्योग रहेको थाइल्याण्डमा यस्तो हिंसात्मक हमलाका कारण देशव्यापी रुपमा तनाव उत्पन्न भएको बताइएको छ । थाइल्याण्डमा बिहीबार राति र शुक्रबार बिहानसम्म कम्तीमा पनि ११ स्थानमा बम हमला भएको थियो । आक्रमण प्राय द्वन्द्वग्रस्त मानिएको दक्षिणी प्रान्तमा बढी भएको थियो ।

तर ती आक्रमणहरु आतङ्ककारी आक्रमण भने नभएको प्रहरीको भनाई छ । कतिपय समाचारमा थाइल्याण्डमा पनि आइएसको हमला भएको भनी समाचार आएपछि प्रहरीले सो धारण राखेको हो । थाई प्रहरी प्रवक्ता पियापान पिंगमुगले थाइल्याण्डमा यस्तो आतङ्कवादी हमला नभएर घरायसी अतिवादीहरुले गराएका बताएको हो ।

शनिबार प्राप्त समाचारअनुसार थाइल्याण्डका दक्षिणी प्रान्तहरुमा पछिल्ला वर्षहरुमा हिंसात्मक क्रियाकलापहरु हुने गरेका स्थानमा प्रहरीले व्यापक मात्रामा खोजी अभियान सुरु गरेको छ । ती क्षेत्रहरुमा शुक्रबार बिहानैदेखि कडा सुरक्षा व्यवस्था अपनाइएको छ । स्थानीय सञ्चारमाध्यमहरुले आतङ्कवादी हमला भएको जनाएका छन् ।

यस्तो प्रकारको हमला आतङ्कवादी भएको भनी प्रचार भएकोले यसका कारण थाइल्याण्डको पर्यटकीय उद्योगमा असर पर्ने भन्दै प्रहरीले ती आक्रमणकारीको खोजी व्यापक मात्रामा गरिहेको बताइएको छ । रासस÷एएफपी