बुटवल, २९ साउन । कलाकारलाई मास बटुल्ने भाँडो मात्रै नबनाई राज्यका निकायमा समावेशी प्रतिनीधित्व गराउन कलाकारहरुले आग्रह गरेका छन् । नेपाल सांस्कृतिक संघ रुपन्देहीको दोस्रो अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्ने वक्ता कलाकारहरुले विकशित मुलुकहरुमा कलालाई उच्च महत्व दिएपनि हाम्रो देशमा कला र कलाकारलाई हेर्ने दृष्टिकोण सकारात्मक नरहेको गुनासो गरेका थिए ।
उनीहरुले मुलुक समावेशी संस्कारबाट अंगाडी बढिरहेका बेला हरेक वर्ग समुदायलाई समावेशीकरण गरेपनि कलाकारितालाई समावेशीकरण नगरेको भन्दै राज्यका निकायमा समावेशी प्रतिनीधित्व गराउन पहल गर्न सुभेच्छुक संस्था नेपाली कांग्रेलाई आग्रह गरेका हुन् । आफूहरुले नेपाली काँग्रेसमाथि सुभेच्छा राखेपनि नेपाली काँग्रेसले आफूहरु त्यति महत्व नदिएको उनीहरुको गुनासो छ ।
कार्यक्रममा बोल्दै नेपाल सांस्कृतिक संघका केन्द्रीय सभापति तिर्थबहादुर थापाले राज्य तथा पार्टीका पनि बिभिन्न निकायमा सबै क्षेत्रको प्रतिनीधित्व भएपनि सांस्कृतिक क्षेत्रलाई उपहास गरिएको उल्लेख गर्नुभयो । उहाँले कला संस्कृत नेपालीको गहना भएपनि कार्यक्रममा पहिरिएका गहना कार्यक्रम पछि फुकालेर राख्ने प्रबृत्ति सरकार र पार्टीमा पनि रहेकाले त्यस्तो प्रबृत्तिको अन्त्य गर्न आग्रह गर्नुभयो ।
त्यस्तै नेपाली काँग्रेस रुपन्देहीका जिल्ला सदस्य फणेन्द्र शर्माले पार्टी नेताको हस्तक्षपका कारण सुभेच्छुक संघ संस्थाको कृयाशिलता हराउँदै गएको उल्लेख गर्दै पार्टीले सुभेच्छुक संघसंस्थाहरुमा हस्तक्षपकारी भूमिका खेल्न नहुने उल्लेख गर्नुभयो ।
सांस्कृतिक संघ रुपन्देहीका सभापति राधेश्याम राजभण्डारीको सभापतित्वमा भएको कार्यक्रममा संघका केन्द्रीय सल्लाहकार तथा बुटवल उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष खिमबहादुर हमाल, प्रजातन्त्रवादी प्राध्यापक संघका केन्द्रीय कोषाध्यक्ष डा. बिष्णु पोखरेल, नेपाली काँग्रेस महाधिवेशन प्रतिनीधि वालकुमारी भण्डारी, काँग्रेस क्षेत्र नं. ४ रुपन्देहीका उपसभापति परशुराम ढकाल, बुटवल नगर समितिका उपसभापति बिमलराज भट्टराई, नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीका अध्यक्ष तथा महाधिवेशन प्रतिनीधि काजिमान श्रेष्ठ, पश्चिमाञ्चल यातायात व्यबसायी समितिका अध्यक्ष लोकराज पोखरेल, सम्मानित पत्रकार यमलाल भुसाल, नेपाल प्रेस युनियन रुपन्देहीका सभापति बिक्रम खड्का लगायतले सांस्कृति संघले कलाका माध्यमबाट संस्कृतिको संरक्षणमा पनि क्रियाशिल हुन सुझाव दिएका थिए । कार्यक्रममा वरिष्ठ उपसभापति खिमानन्द भट्टराईले स्वागत र सल्लाहकार डिल्लीनारायण पाण्डेले सञ्चालन गर्नुभएको थियो ।
चारजना सम्मानित
सांस्कृति संघ रुपन्देहीले विभिन्न माध्यमवाट नेपाल सांस्कृतिक संघमा योगदान पु¥याएका चारजनालाई सम्मान गरेको छ । तथा कला, संस्कृतिको सरक्षणमा लागेका कलाकार, नृत्यकार, पत्रकार र बाद्यवादक गरी चार जनालाई सम्मान गरेको हो ।
शनिबार बुटवलमा सम्पन्न दोस्रो अधिवेशनको अवसरमा पत्रकार यमलाल भुसाल, बाद्यबादक बिष्णु कंडेल, गायक दिल्लीनारायण पाण्डे र नृत्यमा सीमा भण्डारीलाई सम्मान सहित जनही तीन हजार रुपैंयाका दरले नगद पुरस्कार प्रदान गरिएको हो । उनीहरुलाई संघ रुपन्देहीका अध्यक्ष राधेश्याम राजभण्डारी केन्द्रीय अध्यक्ष तिर्थबहादुर थापाले सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान सहित पुरस्कार प्रदान गर्नु भएको थियो ।
सभापतिमा पुन राजभण्डारी सम्र्वसम्मत
संघको शनिबार नै सम्पन्न दोस्रो अधिवेशनबाट सभापति पदमा पुनः राधेश्याम राजभण्डारी निर्बिरोध निर्वाचित हुनु भएको छ । सर्वसम्मत रुपमा चयन भएको जिल्ला कार्य समितिको वरिष्ठ उपाध्यक्षमा खिमानन्द भट्टराई, प्रथम उपसभापतिमा तुलाराम गुरुङ्, द्वितीय उपाध्यक्षमा दीपा लामिछाने, सचिवमा दामोदर बस्याल, सहसचिवमा शीलु भट्टराई, कोषाध्यक्षमा लक्ष्मण सुवेदी, सहकोषाध्यक्षमा बिष्णु कंडेल निर्वाचित हुनु भएको हो ।
त्यस्तैगरी कार्यसमिति सदस्य पदमा रीतु थापा, ओम ज्ञवाली, सीता शर्मा, पुरुषोत्तम पौडेल, कृष्ण बाबु पाण्डे, चेतना थापा, राजेन्द्र पोखरेल, सीमा भण्डारी, रमेश अर्याल, सेजन बयम्बु मगर र रेशमबहादुर केसी निर्वाचित हुनु भएको छ ।