छानबिनमा रहेका चिकित्सकलाई काममा नलगाउन निर्देशन

746

छानबिनमा रहेका चिकित्सकलाई काममा नलगाउन निर्देशन

doctor steskope

काठमाडौँ, ३० साउन । प्रधानमन्त्री पुष्पकमल दाहालले नक्कली शैक्षिक प्रमाणपत्रको अभियोगमा छानबिनमा रहेका कुनै पनि चिकित्सकलाई बिरामीको स्वास्थ्य जाँच गर्नका लागि तत्काल रोक लगाउन निर्देशन दिनुभएको छ ।

शैक्षिक योग्यताका विषयमा प्रश्न उठेपछि नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरोले करिब पचास चिकित्सकलाई पक्राउ गरी छानबिन अगाडि बढाएको थियो । अयोग्य चिकित्सक हिरासतबाट रिहा भएपछि पुनः आफ्नै कार्यक्षेत्रमा फर्केको र बिरामीको स्वास्थ्य जाँच गरिरहेको भन्ने सूचना आएपछि प्रधानमन्त्रीले आज स्वास्थ्य सचिव सेनेन्द्रराज उप्रेतीलाई फोन गरी नागरिकको स्वास्थ्यसँग खेलबाड गर्ने काम तत्काल रोक्न निर्देशन दिनुभएको हो ।

प्रधानमन्त्री दाहालका स्वकीय उपसचिव मनोहरि तिमिल्सिनाका अनुसार छानबिनका क्रममा रहेका अयोग्य चिकित्सकलाई कारबाहीको दायरामा ल्याउन तथा उनीहरुको प्रमाणपत्र समेत तत्काल निलम्बन गर्नका लागि नेपाल मेडिकल काउन्सिललाई समेत प्रक्रिया अगाडि बढाउन निर्देशन दिनुभएको हो ।

अदालतमा चलिरहेको मुद्दा किनारा नलागेसम्म स्वास्थ्योपचारमा अयोग्य चिकित्सक संलग्न हुने विषय मानवीय स्वास्थ्यसँगको खेलबाड भएकाले त्यसलाई सहन नसकिने प्रधानमन्त्रीको भनाइ थियो । प्रधानमन्त्रीले मानव स्वास्थ्यसँग कुनै पनि खेलबाड गर्ने र छानबिनका रहेका चिकित्सक बिरामी जाँच्न लागिपर्ने काम पूर्णतः गलत हो भन्दै तत्काल कारबाही गर्न स्वास्थ्य सचिव उप्रेतीलाई निर्देशन दिएको स्वकीय उपसचिव तिमिल्सिनाले जानकारी दिनुभयो ।

स्वास्थ्यको विषय सबैभन्दा संवेदनशील रहेकाले अयोग्य चिकित्सकले जाँच गर्ने विषय नै पूर्णतः गैरकानुनी भएकाले त्यसमा ध्यान दिन सचिव उप्रेतीलाई निर्देशन दिइएको प्रधानमन्त्रीको स्वकीय सचिवालयले जनाएको छ । स्वास्थ्य सचिव उप्रेतीले पनि प्रधानमन्त्रीले नागरिक स्वास्थ्यका विषयमा चासो राख्नुभएको जानकारी दिँदै अयोग्य चिकित्सकको कारबाही प्रक्रिया टुङ्गो नलाग्दासम्म काममा नलगाउने बारे आफूहरु सचेत रहेको बताउनुभयो ।

उहाँले प्रधानमन्त्रीले उठाउनुभएको चासोमा आफूहरु संवेदनशील रहेको बताउँदै आन्तरिक छलफल गरेर कसरी अगाडि बढ्ने भन्ने बारेमा निर्णय लिइने प्रतिक्रिया दिनुभयो । प्रधानमन्त्रीले नक्कली भनिएका चिकित्सक हिरासतमुक्त भएपछि फेरि बिरामी जाँच्न थालेको जानकारी पाएपछि तिनलाई नेपाल मेडिकल काउन्सिलबाट निलम्बन गरी बिरामी जाँच्नबाट रोक्न निर्देशन दिनुभएको सन्दर्भमा आफूहरुले त्यसलाई पूर्णत शिरोधार्य गर्ने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहसचिव डा दीपेन्द्ररमण सिंहले छानबिनका रहेका कुनै पनि अयोग्य चिकित्सकलाई काममा नलगाइएको बताउँदै कहीँ कतै त्यस्तो भएको भए छानबिन गरिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘मानवीय स्वास्थ्यसँग खेलबाड गर्ने विषय नै हुन सक्दैन । हामी पूर्णत संवेदनशील भएर लागेका छौँ । आवश्यक विधि र प्रक्रियाका आधारमा कारबाही अगाडि बढ्छ ।’’

नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरोले गत असार ५ गते ३६ नक्कली चिकित्सक पक्राउ गरेको थियो । तीमध्ये काठमाडौँबाट १३, पर्साबाट, मोरङ र चितवनबाट तीन, ललितपुर र धनुषाबाट दुई दुई, दाङ, कास्की, झापा र सुनसरीबाट एक एक चिकित्सकलाई नक्कली चिकित्सकको अभियोगमा पक्राउ गरेको थियो ।

यस्तै यही साउन २४ गते ललितपुर र काठमाडौँबाट एक एक चिकित्सकलाई सोही अभियोगमा ब्युरोले पक्राउ गरी प्रहरीले विशेष अदालतमा मुद्दा चलाएको छ । तीमध्ये केही चिकित्सक धरौटीमा रिहा भएर काममा फर्केको भन्ने सूचनाका आधारमा प्रधानमन्त्रीले चासो देखाउनुभएको हो ।