काठमाडौँ, ३० साउन । अनशनरत गङ्गामाया अधिकारीको जीवनरक्षाका लागि ‘गङ्गामाया बचाऔँ अभियान’ सुरु गर्दै प्रधानमन्त्री निवास बालुवाटार धर्ना दिन पुगेका मानवअधिकारकर्मीलाई प्रहरीले आज पक्राउ गरेको छ ।
छ वर्षदेखि अनशनरत गङ्गामायाले गत बिहीबारदेखि स्लाइन र पानी समेत त्यागेर आमरण अनशन सुरु गरेपछि मानवअधिकारकर्मीले उहाँको जीवन बचाउन भन्दै उक्त अभियान आजदेखि सुरु गरेका हुन् । पक्राउ पर्नेमा चरण प्रसार्इँ, इन्द्र अर्याल, सुमन अधिकारी, कृष्ण अर्याल, शोभा महर्जन, सावित्री श्रेष्ठ, भोजराज चापागाईँ लगायत ११ जना हुनुहुन्छ । उहाँहरुलाई निधेषित क्षेत्रमा धर्ना बसेको जनाउँदै पक्राउ गरिएको थियो ।
मानवअधिकारकर्मी अर्यालले आफूहरु निषेधित क्षेत्रमा नबसेको र शान्तिपूर्ण धर्नामा बसेका बेला प्रहरीले पक्राउ गरेको आरोप लगाउनुभयो ।