प्रधानमन्त्री र अष्ट्रेलियन राजदूत बीच भेटवार्ता

293

प्रधानमन्त्री र अष्ट्रेलियन राजदूत बीच भेटवार्ता

काठमाडौँ, ३१ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपालका लागि अष्ट्रेलियाका राजदूत ग्लेन डारेन ह्वाइटबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज भएको भेटवार्तामा राजदूत ह्वाइटले नेपालको प्रधानमन्त्रीमा निर्वाचित हुनभएकामा प्रधानमन्त्री दाहाललाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।

प्रधानमन्त्री दाहालले अष्ट्रेलिया र अष्ट्रेलिया सरकारसँगको सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गर्दै नेपालले समावेशी, लोकतान्त्रिक र प्रगतिशील संविधान निर्माण गरेको र संविधानको सर्वस्वीकार्यता बढाएर कार्यान्वयन गर्नेतिर सरकार क्रियाशील भएको बताउनुभएको थियो ।

प्रधानमन्त्रीले नेपालको शान्ति प्रक्रिया मौलिक ढङ्गले समापनको दिशामा रहेको जानकारी दिँदै पुनःनिर्माण र आर्थिक समृद्धिका लागि नेपाल सरकार र अष्ट्रेलियासँग सहकार्य गरेर अगाडि बढ्न आफू इच्छुक रहेको बताउनुभएको प्रधानमन्त्रीको सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

भेटमा राजदूत ह्वाइटले नेपाल र अष्ट्रेलियाबीच समुधर र मैत्रीपूर्ण सम्बन्ध रहेको भन्दै प्रधानमन्त्री दाहालको कार्यालयमा थप मैत्रीपूर्ण सम्बन्ध विस्तार हुने विश्वास व्यक्त गर्नुभएको थियो ।