राजनीतिक मुद्दाभन्दा शैक्षिक विषयमा केन्द्रित : महर

400

राजनीतिक मुद्दाभन्दा शैक्षिक विषयमा केन्द्रित : महर

aaaaaaaaaa

काठमाडौँ, ४ भदौ । नवनिर्वाचित नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)का पदाधिकारीले अब आफूहरु राजनीतिक मुद्दाभन्दा शैक्षिक विषयमा केन्द्रित भएर काम गर्ने बताएका छन् । रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको बधाई कार्यक्रममा उनीहरुले अबको नेविसङ्घले राजनीतिक दिशा परिवर्तन गरेर वर्गीय शिक्षाका मुद्दा उठान गर्ने बताए ।

अध्यक्ष नैनसिंह महरले आफ्नो दुईवर्षे कार्ययोजना पेस गर्दै आफूहरु शिक्षा र स्वास्थ्यजस्ता जनताका आधारभूत आवश्यकता निःशुल्क गराउन पहल गर्ने बताउनुभयो । उहाँले देशमा जातीय, क्षेत्रीय र धार्मिक सहिष्णुता कायम गराउनेखालको शिक्षा नीति आफूको माग भएको बताउँदै, “नैतिकतामा आधारित व्यावहारिक शिक्षामा हाम्रो जोड हुनेछ”– भन्नुभयो ।

छात्रातर्फकी निर्वाचित उपाध्यक्ष उर्मिला थपलियाले निजी र सरकारी विद्यालयबीचको खाडल, चन्दा आतङ्कजस्ता विषयमा आफूको ध्यान केन्द्रित हुने बताउनुभयो । महामन्त्री सरोजकुमार थापाले अध्यक्ष र अन्य पदाधिकारीले महाधिवेशन दौरान उठाएका मुद्दा बन्दसत्र नभएकाले छलफल हुन नपाएकामा दुःख व्यक्त गर्दै अब नेविसङ्घको पहिलो बैठकबाट पारित गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले आठौँ शिक्षा संशोधन ऐन सहीरुपमा कार्यान्वयन गर्न अग्रसर हुने बताउँदै सङ्गठनभित्र अपारदर्शी काम गर्ने सबैलाई अनुशासनको कारबाही गर्ने दृढता व्यक्त गर्नुभयो । अर्का महामन्त्री कुन्दनराज काफ्लेले आन्तरिक लोकतन्त्रको सुदृढीकरण, योग्यता र क्षमताको प्रतिस्पर्धा आदि कुरामा आफूले जोड दिने बताउनुभयो ।