निधि र मोदीबीच भेट

215

निधि र मोदीबीच भेट

nidhi

नयाँ दिल्ली, ४ भदौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका उपप्रधानमन्त्री विमलेन्द्र निधिबीच शनिबार नयाँ दिल्लीमा भेट भएको छ । नेपालका उपप्रधानमन्त्री निधि नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विशेष दूतका रुपमा भारत भ्रमणमा जानुभएको थियो ।

सो जानकारी भारतीय विदेशमन्त्रालयका प्रवक्ता विकास स्वरुपले आफ्नो ट्वीटर अकाउन्टमार्फत शनिबार अपरान्ह दिनुभएको छ । उहाँले आफ्नो ट्वीटर अकाउन्टमा प्रधानमन्त्री मोदी र नेपालका उपप्रधानमन्त्री निधिबीचको भेटघाटको फोटो पनि राख्नुभएको छ ।

यसै महिनाको सुरुमा निर्माण भएको नेपालको नयाँ सरकारका तर्फबाट भएको निधिको यो भारत भ्रमण सबैभन्दा उच्च सरकारी अधिकारीको भ्रमण हो । निधिले शुक्रबार नै भारतका विदेशमन्त्री शुष्मा स्वराज र गृहमन्त्री राजनाथ सिंहसँग पनि भेट गर्नुभएको थियो ।

सो अवसरमा भारतीय विदेशमन्त्री स्वराजले नेपाल सरकारसँग निकट भएर काम गर्न भारत तयार रहेको जानकारी दिनुभयो भने नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणको निमन्त्रणा पनि दिनुभयो । सो भेटका क्रममा नेपालका उपप्रधानमन्त्री विमलेन्द्र निधिले नेपालको आर्थिक विकासमा भारतको सहयोगको प्रसंशा गर्नुभएको थियो ।