टर्कीमा असफल ‘कू’ पछिका असफल प्रयासहरु

328

टर्कीमा असफल ‘कू’ पछिका असफल प्रयासहरु

tarki

एकराज पाठक/
टर्कीमा गत जुलाई १५ मा भएको एक असफल सैनिक ‘कू’ पछि पनि सरकारले कैयौँ असफल प्रयासहरु जारी राखेको पश्चिमाहरुले टिप्पणी गरेका छन् । उनीहरुले भनेका छन्– त्यसताकाको केही सैनिक जर्नेलको असफलतालाई अहिले सरकारले पछ्याइरहेको छ र यो पनि सफलताको बाटोमा छैन । आफू विरुद्धका मानिसले जेल भर्ने राष्ट्रपति रेसेप तैयप एर्डोगानको पछिल्लो प्रयास यसअघिको कू जस्तै अर्काे असफल प्रयास भएको उनीहरुको भनाई छ ।

पश्चिमाहरुले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले हाल जारी राखेको प्रतिशोधको कार्यलाई पनि यसअघिकै कूको असफलतासँग जोडेर हेरेका छन् । यतिखेर टर्कीको जेलमा त्यो कू प्रयास गर्ने सैनिक जर्नेलमात्र होइन विश्वविद्यालयका प्राध्यापक, उपकुलपतिहरु, सरकारी कर्मचारी, लेखक, वकिल, राष्ट्रिय फुटबल खेलाडीदेखि टर्कीका राष्ट्रिय राजनीतिक दलका नेताहरुसमेत रहेका छन् । यतिखेर राष्ट्रपति एर्डाेगानले आफूविरुद्धका सबैलाई कारबाहीका लागि निहूँ पाएको टिप्पणी विदेशी विश्लेषकहरुको छ । स्वदेशमा त उहाँको विरुद्धमा लेख, समाचार वा कुनै पनि किसीमको टिका टिप्पणी गर्न पाइने अवस्था नै छैन ।

फ्रान्सेली विदेशमन्त्रीले गतमहिना भन्नुभएको थियो– सैनिक कूको असफल प्रयासलाई दबाउने काम टर्कीका राष्ट्रपतिको लागि ब्ल्याङ्क चेक होइन । अर्थात उहाँले यसै निहूँमा आफ्ना विरोधी सक्ने प्रयोजनमा यो कारबाहीको अभियानलाई सञ्चालन गर्ने होइन र एउटा खाली चेकमा आफूलाई जति पैसा चाहिन्छ त्यति नै आफैले लेखेर रकम झिक्नेजस्तोगरी यो प्रयोजनको चेक साट्ने काममा प्रयोग गर्न पाइदैन । हुन पनि हो । उहाँले गएको महिना दिन भन्दा केही बढी समयलाई त्यसैगरी प्रयोग गर्नुभएको छ । त्यसैगरी आफूखुशी कारबाहीका लागि नागरिकमाथि धरपकड गरिएको छ ।

राष्ट्रपति एर्डाेगानलाई सत्ताच्यूत गर्ने उद्देश्यका साथ उहाँ विदामा रहेको बेला कूको प्रयास भएको थियो । जुन प्रयास असफल भयो । ‘कू’ को प्रयास घन्टौं लामो लडाइपछि एर्डोगान समर्थित सेनाले यसलाई नियन्त्रणमा लियो र त्यस प्रयासलाई विफल सावित गरिदियो । यस कूको प्रयास गरेको आरोपमा सैन्य क्षेत्रका वरिष्ठ अधिकारीहरु, पत्रकार, न्याय क्षेत्रका वष्रिठ अधिकारीहरु, उच्च स्तरीय व्यापारीलयागात हजाराँैको सङ्ख्यामा टर्कीका नगरिक पक्राउ परेका छन् । एर्डोगानलाई सत्ताच्युत गर्ने उद्देश्यले गरिएको असफल ‘कु’ प्रयासपछि सरकारले प्रहरी, सेना, शिक्षक, टर्की एयरलाइन्सका कर्मचारीसमेतलाई गरी करिब ५० हजारलाई जागिरबाट बर्खास्त नै गरेको छ । उनीहरु आफ्नो जागिर थमौतीका लागि अब अदातल जाने ठाउँ पनि छैन ।

केहीलाई आफन्त तथा सरकारको नजिकका नागरिकलाई पनि कारागारमा राखिएको थियो । तर उनीहरुलाई देखाउनका लागि मात्र लिइएको थियो र केही दिनपछि नै मुक्त गरिएको छ । तर हजारौँको सङ्ख्यामा अझै पनि काराबासमा नागरिक थुनिएको छ । केही अघिमात्र अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले प्रकाशनमा ल्याएको एक समाचार अनुसार टर्कीमा गत जुलाई १ अघि अपराध स्वीकारेका ३८ हजार जति कैदीलाई टर्कीले शीघ्र नै जेलमुक्त गर्न लागेको खुलाशा गरिएको छ ।

गत जुलाई १५ मा टर्कीमा भएको असफल कू प्रयासपछि टर्कीका कारागारमा कैदी, बन्दीहरुको सङ्ख्यामा अस्वाभाविक बृद्धि भई खचाखच भएका कारण जेलको अभावमा उचित व्यवस्थापन गर्नु परेकोकोले ती कैदीहरुलाई मुक्त गर्न लागिएको न्यायमन्त्री बेकिर बोजागले बताएका थिए । यसरी मानिस थुन्ने जेलको अभावहुदा सम्म पनि सरकारले नागरिक पक्राउ गर्न छोडेको छैन । उसले आफूविरुद्धका व्यक्तिले जेल भर्ने कामलाई निरन्तरता दिएको छ ।

यद्यपी यसरी जेल मुक्त गर्न लागिएका ती कैदीहरुमा ज्यानमारेको अभियोग लागेका र यसअघिको सरकारको परिभाषामा राज्य बिप्लवको अभियोग लागेका समेत छन् । अपराधीलाई जेलमुक्त गरेर यसरी सैनिक कूको प्रयासमा सघाएको आरोपमा आफ्ना विरोधीहरुलाई थुन्न राष्ट्रपतिले जेल खाली गर्न लागेको समाचारको विश्वव्यापी रुपमा नै विरोध भएको छ । तर यत्रो ठूलो सङ्ख्यामा मुक्त गर्न लागिएका ती सबै कैँदी साधारण अपराधमा कारागारामा परेका होइनन् भन्ने यथार्थ सरकारलाई पनि थाहा नै छ । ३८ हजार कैदीलाई यसरी मुक्त गर्दा देशमा अर्को खतरा आइन पनि नसक्ला भन्न सकिन्न भन्छन् टर्कीका अधिकारवादीहरु । अर्कोतर्फ राष्ट्रपति एर्डोगानले जुन प्रकारले समाजका हरेक क्षेत्रमा कार्यरत वरिष्ठ अधिकारीहरु पक्राउ गर्न लगाएका छन् यदि यो साँचो हो भने त ती व्यक्तिहरुको प्रयास नै सही हो वा राष्ट्रपति एन्र्डोगान भन्ने प्रश्न पनि कतिपयले उठाउन थालेका छन् ।

टर्कीमा सुरुमा लागू गरिएको मृत्युदण्डको सजाय सन् २००४ मा खारेज गरिसकिएको थियो । तर अहिले आएर सो कानूनको प्रावधानलाई पुनः स्थापना गर्ने सम्भावनाको पनि राष्ट्रपतिले सङ्केत गरेका छन् । १३ बर्षसम्म शासनको स्वाद लिएका टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले जुलाई १५ मा भएको असफल विद्रोहपछि टर्कीले पुनः मृत्युदण्डको प्रावधानलाई ब्युताउन सक्ने चेतावनी दिनु भएको थियो ।

यद्यपी टर्कीका प्रधानमन्त्री बिनाली इल्दिरिमले जुलाई १५ मा टर्कीमा भएको असफल राज्य विद्रोहमा संलग्न व्यक्तिलाई न्यायिक सुनुवाई गरी कडा सजाय दिइने बताएका छन् । उनले सञ्चारमाध्यममार्फत मृत्युदण्ड कानून फेरि नल्याउने प्रष्ट पारेका छन् । तर राष्ट्रपतिको स्पष्ट धारणा भने आएको छैन । किनभने उहाँले यसअघि नै जुलाई १५ को प्रयास सबैभन्दा ठूलो अपराध भएकोले त्यसमा सम्लग्नलाई जस्तोसुकै कारबाही पनि गर्न सकिने बताउनुभएको छ ।

मृत्युदण्डको कानुन ब्युताउन सक्ने राष्ट्रपतिको चेतावनीले युरोपियन युनियन (ईयू) समेत स्तब्ध बनेको प्रतिक्रिया दिएको छ । टर्कीले यदि मृत्युदण्डको सजायलाई पुनः लागू गरेमा ईयू सदस्यता प्रदान गर्न नसकिने चेतावनी ईयूले दिएको थियो । ईयू सदस्यता प्राप्त गर्नका लागि लामो प्रयास गरेपछि ईयूले टर्कीलाई आवश्यक प्रक्रिया पूरागरी छिट्टै सदस्यता प्रदान गर्न सकिने सम्भावना रहेको बताइँदै आएको छ । असफल सैनिक विद्रोहपछि राष्ट्रपतिले जारी राखेका कारबाहीपछि पश्चिमा मुलुकले असन्तोष व्यक्तगर्दै आएका छन् । पश्चिमा मुलुकको यो असन्तोषका कारण नै टर्कीका राष्ट्रपति एन्र्डोगानले रसियाको भ्रमण गर्नुभएको थियो । अकस्मात तय भएको यो रसिया भ्रमणका क्रममा नै उहाँले रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनसँग आइएस बिरुद्धको कारबाहीका लागि संयुक्त रुपमा लाग्ने बताउनुभएको हो ।

टर्कीले असफल सैनिक विद्रोह गराउन इस्लामिक धार्मिक नेताद्वारा नेतृत्व गरिएको फेतुल्लाहसी आतङ्ककारी संगठन (एफइटिओ) को संलग्नता रहेका आरोप लगाएको छ । अमेरिकामा स्वघोषित निर्वासनमा रहनुभएका धार्मिक नेता फेतुल्लाह गुलेनमाथि आधिकारिक पक्राउ आदेश जारी गरेको थियो । टर्कीको राजधानी इस्तानबुलमा अवस्थित एक अदालतले गुलेनलाई पक्राउ आदेश दिएको छ । सरकारले धार्मिक नेता गुलेनलाई असफल सैनिक विद्रोहमा सलग्न रहेको बताइरहदा गुलेन र उहाँ सम्बद्ध धार्मिक सङ्गठनहरूले उक्त असफल ‘कू’ प्रयासमा आफूहरूको कुनै संलग्नता नरहेको जनाउँदै आएका छन् । गुलेन र उनका समर्थकले आफूहरू शान्तिपूर्ण आन्दोलनमा विश्वास गर्ने दावी गर्दै आएका छन् ।

टर्कीमा जारी जथाभावी पक्राउ र कूको प्रयासको आरोपमा जागीरबाट बर्खास्त गर्ने सरकारी कारबाहीपछि अमेरिकी राष्ट्रपति बाराक ओबामाले टर्कीका सबै पक्षलाई विधिको शासनको पालना गर्न आग्रह समेत गर्नुभएको थियो । उहाँले प्रजातन्त्रको मूल्य मान्यतालाई टर्कीले पनि पालना गर्नुपर्छ भन्नुभएको थियो ।

टर्कीको नजिकका देशमा सिरिया, इराक, इरान, अर्मेनिया जर्जियालयातका देशहरु पर्दछन् । सिरियामा सन् २०११ मार्च महिनाबाट सिरियाली राष्ट्रपति बसर अल असदको राजिनामाको मागगर्दै सुरु भएकोे जनआन्दोलन गृहयुद्धमा परिणत भएको छ । सो गृहयुद्धको कारण लाखौँको सङ्ख्यामा सिरियाली नागरिक टर्कीमा शरणार्थी जिवनयापन गरिरेहका छन् । सीमा क्षेत्रमा पर्ने देश सिरियामा जारी द्वन्द्वको कारण टर्कीमा पनि प्रभाव परेको बारम्बार हिंसाको भईरहेको पाइन्छ । यस्तै इरान इराककमा जारी हिंसाले पनि टर्कीलाई प्रभाव पारीरहेको हुन्छ ।

सिरिया र इराकमा हालसम्मकै बलियो पकड जमाएका इस्लामिक स्टेट्स (आइएस) आतङ्ककारी समूहले टर्कीमा पनि बारम्बार गराउदै आएको आतङ्ककारी आक्रमणले टर्कीलाई अत्यन्त तनावपूर्ण बनाएको छ । यसमा पनि जुलाई १५ मा भएको असफल सैनिक कूले देशलाई अत्यन्त अप्ठ्यारो स्थितिमा पु¥याएको छ । यस समस्याको समाधान चाँडै निस्किन्छ भन्ने आशामा अन्तर्राष्ट्रिय जगत तथा टर्कीस् नागरिक रहेको भएपनि एर्डाेगानको प्रयास भने आफूविरुद्धका सबैलाई तह लाउने मौका यही हो भन्नेमा नै केन्द्रित देखिन्छ । त्यसैले उहाँको यो प्रयासलाई पश्चिमा जगतले पनि एर्डाेगानको असफल कू पछिको अर्काे असफल प्रयास भनी टिप्पणी गर्ने गरेका छन् ।