संविधान कार्यान्वयन प्राथमिकतामा : निधि

257

संविधान कार्यान्वयन प्राथमिकतामा : निधि

nidhi

काठमाडौँ, ४ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतका रुपमा भारत भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले संविधान कार्यान्वयन र त्यसमा सबै जनताको चाहना समायोजन गर्नु वर्तमान सरकारको प्रमुख प्राथमिकता भएको स्पष्ट गर्नुभएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग सेभेन रेसकोर्सस्थित उहाँको निवासमा आज भएको भेटमा उपप्रधानमन्त्री निधिले उक्त कुरा बताउनुभएको हो । मुलुकको सामाजिक एवम् आर्थिक विकासका निम्ति सरकारको ध्यान केन्द्रित भएको जानकारी दिँदै उपप्रधानमन्त्री निधिले नेपालको विकासका निम्ति भारतको निरन्तर सहयोगका साथै त्यसमा बढोत्तरीको पनि उत्तिकै अपरिहार्यता रहेकामा जोड दिनुभयो ।

हुलाकी सडक, अन्तरदेशीय रेल सेवा, पञ्चेश्वर बहुद्देश्यीय परियोजनाजस्ता संयुक्त रुपमा सञ्चालनमा रहेका परियोजनालाई द्रुत गतिमा कार्यान्वयनका साथै सहयोगका नयाँ क्षेत्र पहिल्याउन जरुरी भएको विषयलाई विशेषदूत निधिले विशेष महत्वका साथ उठाउनुभएको नयाँदिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।

भारतका प्रधानमन्त्री मोदीले नेपालको नयाँ सरकारका विकासका प्राथमिकतामा भारत सरकारको पूर्ण सहयोग रहने आश्वस्त पार्दै बृहत् शान्ति, स्थायित्व र लोकतन्त्रको संस्थागत विकास गर्न नयाँ सरकार सक्षम हुने विश्वास व्यक्त गर्नुभयो ।

साथै उहाँले नेपालका प्रधानमन्त्रीको भारत भ्रमणको प्रतीक्षा गरिरहेको र दुवै मुलुकबाट राष्ट्रपतिस्तरमा शीघ्र भ्रमण आदानप्रदान हुनेमा आफू आशावादी रहेको बताउनुभयो ।