काठमाडौँ, ६ भदौ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा प्राविधिक नहुँदा सिटिस्क्यान सेवा सुरु हुन सकेको छैन । सेवा सुरु गर्न सम्पूर्ण तयारी पूरा भइसकेको भए पनि प्राविधिकको अभावमा सेवा सुरु गर्न ढिलाइ भइरहेको अस्पतालका निर्देशक डा रमेशकुमार खरेलले बताउनुभयो ।
उहाँले भन्नुभयो – “सिटिस्क्यान सेवा सुरु गर्न हामीले मेसिन जडान गरी अन्य तयारी सबै पूरा गरिसकेका छौँ, प्राविधिक दुई दिनमै आउने कुरा छ । आएलगत्तै हामीले सेवा सुरु गर्छौं । ग्लोवल फन्टको करिब रु आठ करोडको आर्थिक सहयोगमा अस्पतालमा उक्त मेसिन ल्याइएको हो ।
निर्देशक डा खरेलले शूल्क कति लिने, कस्ता बिरामीलाई सहुलियत दिनेलगायतका विषयमा पनि बैठक बसेर छिटै निर्णय गरिने जानकारी दिनुभयो । उहाँले अन्य सरकारी अस्पतालमा सिटिस्क्यान सेवा सस्तोमा दिइने र वीर अस्पतालमा बढी भीड हुँदा त्यहाँका बिरामीलाई टेकु अस्पतालले सो सेवा दिन सक्ने पनि बताउनुभयो ।
अस्पतालमा केही समयपछि चार श्ययाको विशेष सघन कक्ष पनि सुरु गर्न काम भइरहेको उहाँले बताउनुभयो ।