काठमाडौं, ८ भदौं । नेशनल ट्रेडिङ लिमिटेड टेकुका कर्मचारी छ महिनादेखि तलब नपाएपछि आन्दोलनमा उत्रेका छन् । सरकारले काममा मात्र लगाउने तर छ महिनासम्मको तलब नदिने गरेकाले लिमिटेडका २९० कर्मचारी आन्दोलनमा उत्रेका हुन् ।
उनीहरुले तलब समयमै दिनुपर्ने, सञ्चय कोष र नागरिक लगानी कोषको पैसा समयमै पठाउनुपर्ने, अवकाशप्राप्त कर्मचारीलाई उपदानको व्यवस्था गर्नुपर्ने, विमा रकम पठाउनुपर्नेलगायतका माग राखेका छन् ।
सङ्घर्ष समितिका संयोजक राजु रानाभाटले छ महिनादेखि तलब नदिएपछि बाध्य भएर सङ्घर्षमा उत्रनुपरेको बताउनुभयो । उहाँले भन्नुभयो– “हाम्रो माग सम्बोधन नभएसम्म हामी आन्दोलन जारी राख्छौँ ।” आन्दोलनरत कर्मचारीले तलब नदिएको भन्दै मङ्गलबार महाप्रबन्धकको कार्यकक्ष समेत घेराउ गरेका थिए ।