प्रेमको परिभाषा सिकाउने कृष्ण

744

प्रेमको परिभाषा सिकाउने कृष्ण

dhurba

ध्रुवशरण ढुङ्गाना
बुटवल, ९ भदौ । आज श्रीकृष्ण जन्माष्टमी । कृष्ण जन्माष्टमीको दिन देशभरका कृष्ण मन्दिरहरुमा भव्यताका साथ पुजा आराधना गर्ने गरिन्छ । विशेष गरी महिलाले यो पर्वमा ब्रत तथा उपबास बस्ने गर्दछन् ।

कृष्ण जन्माष्टमी जस्तै वैदिक सनातन धर्ममा धेरै चाडपर्व र संस्कृति छन् । सम्पूण चाडपर्वको आफ्नै महत्व र विषेशता रहेको छ । यसै अन्तरगतको चाँड हो कृष्ण जन्माष्टमी यो पर्व हिन्दू (आर्य)हरुले भगवान श्रीकृष्णको पुजा आरधना गरी मनाउने गर्दछन् ।

भगवान श्रीकृष्णको जन्म मथुराका राजा कंसको जेलमा वसुदेवकी धर्मपत्नी देवकीको आठौं गर्भबाट भाद्र महिनाको कृष्णपक्षको अष्टमी तिथिका दिन रात्रीको मध्य बाह्रवजे रोहिणी नक्षत्रमा भएको थियो । संम्पूण संसार सुतेका वेला संयमी ऋषि जागेका हुन्छन् । तिनै भोग होइन योगमा जागेकालाई कृपानुभूती प्राप्त होस् भन्नका लागि कृष्णको अवतार भएको मान्न सकिन्छ ।

साधु पुरुषहरुको उद्धार, दूषित कर्म गर्नेलाई नाश र धर्मको स्थापना, कृष्णले आफ्ना लिलाले संसारका धेरैलाई मन्त्र मुग्ध पारेकाछन् । “कृष” अर्थात् कर्षण (खिच्नु) शब्दबाट कृष्ण बनेको छ । बाँसुरी बजाएर हवोस् या रास रचाएर सम्पूर्ण भक्तका मन अफुतिरै आकर्षित गरेका छन् । संसारमा प्रेमको परिभाषा सिकाउने नै कृष्ण हुन् ।

उनले पशुदेखि बृक्ष र प्रकृतिलाईसम्म पे्रम गरेको देखिन्छ । कृष्ण बाँसुरी बजाउने गोपी नचाउने मात्र होइनन्, दार्शनिक र राजनीतिज्ञ पनि हुन् । अहिलेको समाजमा कृष्णको जस्तो राजनीतिको खाँचो छ । दुष्टदमनकारी कृष्णले कंस मारे । मथुराका जनतालाई कंसको अत्याचारबाट मुक्ति दिलाए, उग्रसेनलाई राजा वनाइदिए तर आफु कहिल्यै पनि राजगद्दीमा बसेनन् । केवल शासन सत्तामा मात्रै लिप्तहुने नेतालाई कृष्णचरित्रले यो शिक्षित गरेको छ ।

कृष्णको दर्शन गीतामा र उद्धव उपदेशमा कति गहिराई छ मापन गर्न ठुला ठुला विद्वान लाई कठिन परेको देखिन्छ । वाल्य अवस्थामै ठुला ठुला दैत्य (पुतना, तृणवर्त, अघासुर, वकासुर, धेनुकासुर, चाणूर, मुष्टिक) परस्त गरेका कारण स्पस्ट ऐश्वर्य रहेको देखिन्छ । मित्र प्रतिको कर्तव्यलाई सुदामाको कनिकाबाट ठुलो सानो धनी गरीव आदिको भेदभाव राख्नु हुदैन भन्ने शिक्षा दिए ।

भगवानकृष्णको भनाइ छ अन्याय र अत्यचारको साथ कहिल्यै पनी सझौता नगर, सत्य र धर्मको पथ कहिल्यै नछोड किन भने सत्य र धर्मले तिम्रो रक्षा सदैव गरिरहेको हुन्छ । श्रीकृष्ण जन्माष्टमीको रात्रिलाई मोहरात्री पनि भनिन्छ । यो रात्रको दिन श्रीकृष्ण मन्त्रको जप, ध्यान गर्दै रातभर जाग्राम बस्नाले संसारको मोह मायाबाट आसक्ति हट्ने हुन्छ र ज्ञान तथा विवेकको बृद्धि हुने धार्मिक विश्वास छ ।