बुटवल, ९ भदौ । शान्तिकालागि सञ्चार अभियानद्वारा सञ्चालित बुद्ध सामुदायिक टेलिभिजनले संस्था नबौं वर्षमा प्रवेश गरेको अवसरमा आज बुटवलमा रक्तदान गरेको छ । सो अवसरमा साताव्यापी कार्यक्रमको उद्घाटन सहित रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले रक्तदान कार्यक्रमको समेत उद्घाटन गर्नुभएको थियो ।
उक्त कार्यक्रममा बोल्दै प्रजिअ ढकालले समाज रुपान्तरणकालागि सञ्चारको भूमिका अहम रहेको उल्लेख गर्नुभयो । उहाँले उक्त भूमिका निर्वाह गर्न आम सञ्चार कर्मी सहित सञ्चार उद्योगहरुलाई पनि आग्रह गर्नुभयो ।
त्यस्तैगरी नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष शेरबहादुर केसीले यस क्षेत्रमा बुद्ध टिभिले अग्रणी भूमिका खेलेको उल्लेख गर्दै आगामी दिनमा पनि उक्त टिभिले मोफसलमा नेतृत्वदायी भूमिका खेल्न सक्ने बताउनु भयो । त्यस्तैगरी नेपाल स्वयमसेवी रक्तदाता समाजका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले रक्तदान जिवन दान भएको उल्लेख गर्दै रगतको अभावमा कसैले पनि ज्यान गुमाउने स्थितीको सिर्जना हुन नहुने भएपनि रक्त सञ्चार केन्द्रमा व्यबस्थापन फितलो भएको उल्लेख गर्नुभयो ।
रगतको अभावबाट हुने समस्या समाधानकालागि नियमित रक्तदान गर्न अभिप्रेरित हुनु पर्ने भनाई राख्नुभयो । संस्थाको स्थापना दिवको अवसरमा टेलिभिजनले रुपन्देहीको देवदह स्थित जनप्रिय माध्यमिक बिद्यालयमा अध्ययन गर्ने गरिव तथा जेहेन्दार तीन जना बिद्यार्थीलाई जनही पांच हजारका दरले छात्रबृत्ति वितरण गरिने, आर्थिक सम्बृद्धिमा सञ्चार माध्यमको महत्व र भूमिका बिषयमा अन्तरक्रिया, श्रष्टा सम्मान, जेष्ठ सञ्चालन सदस्यलाई सम्मान, तीज गीत प्रतियोगिता लगायत साताव्यापाी कार्यक्रम तय गरिएको टिभिका कार्यकारी निर्देशक बिष्णु भुसालले जानकारी दिनुभयो ।
सम्मानकालागि सञ्चार क्षेत्रबाट खिमानन्द भट्टराई, साहित्यबाट बनमाली निराकार, सांगितिक क्षेत्रबाट सुरेश सेन्चुरीलाई सम्मान गर्ने तय गरिएको छ । त्यस्तै टेलिभिजन सञ्चालनमा शेयर लगानी गरेका ७० वर्ष नाघेका ६ जना सदस्यलाई सम्मान गरिने उहाँले जानकारी दिनुभयो ।
संस्थाका अध्यक्ष पृथबहादु फौदारको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष ओम ज्ञवालीले स्वागत र सचिव रामप्रसाद पाण्डेले सञ्चालन गर्नुभएको थियो ।