जन्ती बोकेको बस दुर्घटना

239

जन्ती बोकेको बस दुर्घटना

भक्तपुर, ९ भदौ । भक्तपुरको नगरकोट नगरपालिका वडा नं ७ कलमसीबाट जन्ती लिएर कोटेश्वर जाँदै गरेको बस दुर्घटना हुँदा ४४ जना घाइते भएका छन् । बा४ख १९०५ नंको ७ नम्बर रुट चल्ने रिजर्भ बस आज कमलविनायक भत्केको पाटी नगरकोट वैकल्पिक सडकखण्डअन्तर्गत सुडाल जितपुरमा दुर्घटना भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक किरण बज्राचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार घाइते हुनेहरुमध्ये २१ जनाको मध्यपुर अस्पताल थिमि, २५ जना भक्तपुर अस्पताल, दुईजनाको अर्थोपेडिक जोरपाटीमा उपचार भइरहेको छ । चार गम्भीर घाइतेको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ । छब्बीस सिट क्षमताको बसले ६० जना यात्रु बोकेको बताइन्छ । बस तीव्रगति रहेका कारण पनि दुर्घटना भएको हुनसक्ने प्रहरीको भनाइ छ । बसमा सवार यात्रुका अनुसार बस अनियन्त्रित भई घुम्तीबाट खसेको हो ।

चालक दोलखा घर भई जडीबुटी बस्ने रामकुमार भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक मित्रवन्धु थापाले जानकारी दिनुभयो ।