कांग्रेसका १३ मन्त्रीले लिए शपथ

451

कांग्रेसका १३ मन्त्रीले लिए शपथ

13 congress

काठमाडौं, १० भदौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली काँग्रेसका तर्फबाट सरकारमा सहभागी नवनियुक्त १३ जना मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहालको समुपस्थितिमा राष्ट्रपति भण्डारीले राष्ट्रपति कार्यालय शीतलनिवासमा आज आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । यसरी पद तथा गोपनीयताको शपथ लिने मन्त्रीहरुमा अर्जुननरसिंह केसी, डा प्रकाशशरण महत, बालकृष्ण खाँड, केशवकुमार बुढाथोकी, गगनकुमार थापा, शङ्कर भण्डारी, सीतादेवी यादव, हृदयराम थानी, रोमी गौचन, दीपक गिरी, नवीन्द्रराज जोशी, जीवनबहादुर शाही र सूर्यमान गुरुङ हुनुहुन्छ ।

यसअघि नेकाका तर्फबाट उप्रधानमन्त्री तथा गृहमन्त्रीमा विमलेन्द्र निधि र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक सरकारमा सहभागी भइसक्नुभएको छ । नेकाका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल पद तथा गोपनीयताको शपथग्रहण कार्यक्रममा सहभागी हुनुहुन्थ्यो ।

कार्यक्रममा उपराष्ट्रपति नन्द बहादुर पुन, सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि, मन्त्रीहरु, प्रमुख निर्वाचन आयुक्त, तीनवटै सुरक्षा निकायमा प्रमुख, मुख्य सचिव डा सोमलाल सुवेदी र नेपाल सरकारका विशिष्ट अधिकृतहरुको सहभागिता रहेको थियो ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल साउन १९ गते व्यवस्थापिका–संसद्बाट प्रधानमन्त्री पदमा निर्वाचित हुनुभएको थियो । उहाँले साउन २० गते पद तथा गोपनीयताको शपथ लिनुभएको थियो । नेपाली कांग्रेसको साथ र सहयोगमा प्रधानमन्त्री पदमा निर्वाचित हुनभएका दाहालले आफ्नो मन्त्रिमण्डललाई अहिले तेस्रोपटक विस्तार गर्नुभएको हो ।