विश्वास बढाउनुपर्छ : खाँण

1.3K

विश्वास बढाउनुपर्छ : खाँण

khad welcome

काठमाडौँ, १० भदौ । नवनियुक्त रक्षामन्त्री बालकृष्ण खाँणले राष्ट्रियताको सम्बद्र्धन, नेपाली जनताको स्वतन्त्रता र सुरक्षाका लागि नेपाली सेनाले गौरवशाली भूमिका निर्वाह गर्दै आएको बताउनुभएको छ । सिंहदरबारस्थित रक्षा मन्त्रालयमा पदबहालीपछि मन्त्रालय र मातहतको नेपाली सेनाको उच्च अधिकारीलाई निर्देशन दिँदै उहाँले भन्नुभयो–“मुलुकको संविधान र कानुन कार्यान्वयनमा पनि नेपाली सेनाबाट महत्वपूर्ण भूमिका निर्वाह हुँदै आएको छ ।’’

अन्तर्राष्ट्रिय जनतामा समेत सेनाले नेपाल र नेपाली जनताको इज्जत र प्रतिष्ठा बढाइरहेको उल्लेख गर्दै नवनियुक्त रक्षामन्त्री खाँणले भन्नुभयो–“नेपाली जनतामा सेनाप्रति जुन विश्वास छ, मुलुक र जनताको भलाइ गर्छ, सुरक्षा दिन्छ भन्ने त्यो विश्वासलाई अझै बढाउने कार्यलाई मूर्तरुप दिनुपर्छ ।” नेपाली सेना र जनताबीच रहँदै आएको आत्मीय सम्बन्ध विस्तार गर्ने, सङ्गठनलाई आधुनिकीकरण गर्ने, सुदृढ तुल्याउने गौरव र प्रतिष्ठा बढाउने कार्यलाई प्राथमिकतामा राखेर काम गर्ने बताउँदै उहाँले नेपालको राष्ट्रिय सुरक्षा, सार्वभौमसत्ता, अखण्डता र नेपाली जनताको सुरक्षामा नेपाली सेनाले गरेको कार्यमा सहयोग पु¥याउनु हामी सबैको दायित्व हो भन्नुभयो ।

स्याङ्जाको मल्याङकोट गाविसमा २०१७ सालमा जन्मिएका नवनियुक्त मन्त्री खाँण २०७० सालमा भएको संविधानसभाको निर्वाचनमा रुपन्देही जिल्लाको क्षेत्र नं ३ बाट संविधानसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । नेपालको प्रजातान्त्रिक आन्दोलनमा पार्टीका तर्फबाट युवा पुस्ताको पटकपटक नेतृत्व गर्नुभएका खाँण नेपाली काँग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घ र नेपाल तरुण दलको पूर्व अध्यक्ष हुनुहुन्छ ।

नेपाली काँग्रेसका केन्द्रीय समिति सदस्यसमेत रहनुभएका नवनियुक्त रक्षामन्त्री खाँणले यसअघि २०६६ सालमा सिँचाइ मन्त्री र २०६१ सालमा शिक्षा राज्यमन्त्रीको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्नुभएको थियो । उहाँले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ ।

नेपाल सरकारका पुराना मन्त्रालयमध्ये एक रहेको रक्षा मन्त्रालयको स्थापना २००७ सालको क्रान्तिपछि भएको हो । रक्षा मन्त्रालयले मुख्यतयाः राज्यको स्वतन्त्रता, भौगोलिक अखण्डता, स्वाधीनता, राष्ट्रिय एकता सुदृढ गराउने कार्यक्रमको नीतिगत व्यवस्थापनमा भूमिका निर्वाह गर्दै आएको छ ।

राष्ट्रिय सुरक्षा नीति, रणनीति÷प्रतिरक्षा नीतिको तर्जुमा एवम् कार्यान्वयन गर्ने गराउने कार्य र नेपाली सेनाको व्यवस्थापनमा सहयोग एवम् सहजीकरण गर्नु मन्त्रालयको मुख्य कार्य हो । उक्त मन्त्रालय मातहत चारवटा महाशाखा रहेका छन् भने कर्मचारीको दरबन्दी १०१ भए पनि हाल ६३ जना कर्मचारीबाट मन्त्रालयको कार्यसम्पादन हुँदै आएको छ ।

यसअघि नवनियुक्त रक्षामन्त्री खाँणलाई मन्त्रालयमा सचिव महेशप्रसाद दाहाल र प्रधानसेनापति राजेन्द्र क्षेत्रीले स्वागत गर्नुभएको थियो ।