कविता उपाध्याय/
रोल्पा, १३ भदौ । लिबाङ–५की ४० वर्षीया गौसरी वलीले छोराको आशमा १२ सन्तानलाई जन्म दिइसक्नुभएको छ । सत्र वर्ष हुँदा छिमेकी गाविसका २७ वर्षीय खड्कलाल वलीसँग २१ वर्षपहिले उहाँको मागी विवाह भएको थियो ।
विबाह भएको एक वर्षपछि पहिलो छोरीको जन्म दिनुभएकी वलीका क्रमशः एक, साढे एक तथा दुई वर्षको अन्तरमा १२ सन्तान पुगे । सामान्य बिरामी परेका कारण उनका एक छोरा र दुई छोरीको सानैमा मृत्यु भइसकेको छ । “ एउटी छोरी पनि आगोमा परेर अपाङ्ग बनेकी छे हिँड्डुल गर्न सक्दिन । सरकारले अपाङ्गलाई सहयोग गर्छ भन्ने सुनेकी छु तर हाम्रा लागि बोलिदिने कोही छैन”, उहाँले भन्नुभयो ।
हाल उहाँको नौवटी छोरी छन् । तीमध्ये जेठी छोरीको तीन वर्ष पहिले विवाह भइसकेको छ भने अरू सबैसँगै छन् । अशिक्षा र चेतनाको अभावमा जीवन चलाउँदै आएकी वलीले पहिलोपटक गर्भधारण गरेदेखि एकपटक पनि अस्पताल नपुगेको बताउनुभयो ।
“लाज लाग्छ त्यसैले सुत्केरी हुन अस्पताल गइन । फेरि कसैले अस्पताल जानुपर्छ भनेर सल्लाह पनि दिएनन् । अस्पतालमा बच्चा पाउनेलाई पैसा दिन्छ रे भनेको त सुनेकी छु ”, उहाँले भन्नुभयो– “छोराको आशमा छोरीले घर भरियो । यौटा छोरो जन्मिएको थियो त्यही मात्र बाँचेको भए पनि छोराको इच्छा पूरा हुने थियो तर भाग्यमा नभएपछि यस्तै हुँदो रैछ” उहाँले छोरा नहुनुमा भाग्यलाई नै दोष दिनुहुन्छ । छोरीमात्र भएकै कारण आफूले समाजबाट धेरै कष्ट सहेको हुँदा छोरा जन्माउने वलीको सपना अझै पूरा हुन सकेको छैन ।
“हाम्रो समाजमा बाँचे पाल्न, मरे फाल्न छोरा नै चाहिन्छ । फेरि छोरा नहुनेको गैरी जान्छ भन्छन् । त्यसैले छोराको आशै आशमा मेसिले जस्तै बच्चा पाइरहेँ”, धेरै छोरी पाउनु रहरभन्दा पनि बाध्यता भएको उहाँले बताउनुभयो ।
“वलीजस्तै छोराको आशमा छोरी जन्माउने कयौँ महिला जिल्लामा हिंसाको सिकार बनिरहेका छन् । पितृसत्तात्मक सोच र चिन्तन बोकेको हाम्रो समाज परिवर्तनका लागि महिला हिंसा तथा लैङ्गिक विभेदका चर्का चर्का नारा र भाषण मात्र होइन यथार्थतामा परिवर्तन गर्ने हातको खाँचो छ”, महिला मानव अधिकार रक्षक जिल्ला सञ्जाल रोल्पाका अध्यक्ष तीर्था आचार्य भन्नुहुन्छ । रासस