सरकार बहुमतकै आधारमा बन्ने: देउवा

566

सरकार बहुमतकै आधारमा  बन्ने: देउवा

deuwaa

काठमाडौं, असोज /वर्तमान परिस्थितीमा संविधानको प्रावधान अनुसार सर्वदलीय सरकार गठनको सम्भावना नभएको भन्दै नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले बहुमतकै आधारमा सरकार बन्ने बताएका छन्।

नेपाल तरुण दलले संविधान  संविधान निर्माणको खुशीयालीमा राजधानीमा शनिबार आयोजना गरेको चियापान कार्यक्रममा देउवाले भने, ‘पूर्ण सहमतिको सरकार गठन सम्भव छैन्। त्यसैले असोज २१ गतेपछि दलहरुबीच अधिकतम सहमतिका आधारमा बहुमतको प्रधानमन्त्री चयन हुनेछ।’

पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले संविधानको धारा २९८ को उपधारा २ बमोजिम राष्ट्रपति रामवरण यादवबाट सहमतिको सरकार गठनका लागि राजनीतिक दलहरुलाई आब्हान गरेकोले दलहरुबीच आन्तरिक छलफल शुरु भएको बताए।

संविधानको उक्त प्रावधान अनुसार संसदमा रहेका राजनीतिक दलहरुबीच सहमति भएमा सबैको समर्थन पाउने नेताले राष्टपति समक्ष जानकारी दिनु पर्ने छ। यदि असोज २१ सम्म सहमति जुटन सकेन भने राष्टपति यादवले संविधानको धारा २९८ कै उपधारा ३ बमोजिम बहुमतिय आधारमा सरकार गठनका लागि दलहरुलाई आग्रह गर्नुपर्छ।

संविधान जारी भएपछि सरकारको नेतृत्व एमालेलाई सुम्पने सहमति भएको विषयमा सोधिएको प्रश्नको जवाफमा देउवाले यस प्रकारको कुनै सहमतिबारे आफूलाई जानकारी नभएको भन्दै थपेः यदि कसैले व्यक्तिगत रुपमा कसैसँग सहमति गरेको भए त्यो कांग्रेसका लागि मान्य हुँदैन।

नयाँ सरकारको नेतृत्व दाबी बारे सोधिएको प्रश्नको जवाफमा देउवाले पार्टीभित्र सरकारको नेतृत्व बारे कुनै छलफल नभएको बताए।

त्यसैगरी देउवाले मधेसवादी दलसँगको वार्ता सकारात्मक दिशातर्फ अघि बढेको दाबी गर्दै एक दुईदिनमा उनीहरुसँगको विवाद समाधान हुने दाबी गरे।