हरिश ढकाल/
बुटवल, १६ भदौ । नेपाल सरकार, शिक्षा विभागको भौतिक विकास कार्यक्रम अन्र्तगत निर्माण भएको कान्ति उच्च मा.बि.को नवनिर्मित विद्यालय भवनको उद्घाटन गरिएको छ । नेपाल सरकारका नवनियुक्त रक्षा मन्त्री बालकृष्ण खाँणले आज बुटवलमा आयोजित एक कार्यक्रमका बिच सो तीन तले बिद्यालय भवनको उद्घाटन गर्नुभयो ।
कुल एक करोड २० लाख रुपैयाँको लगातमा निर्माण भएको सो बिद्यालय भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री खाँणले संबिधान कार्यान्वयन र आर्थिक समृद्धिका लागि प्रमुख राजनैतिक शक्तिहरु बिच एकता र सहकार्य आवश्यक रहेको बताउनु भएको छ । नेपाल सरकारको रक्षा मन्त्री बनेपछि पहिलो पटक गृह जिल्ला आउनु भएका खाँणले मुलुकले लोकतान्त्रिक संबिधान प्राप्त गरिसकेको अवस्थामा अव सबैको ध्यान संबिधानको कार्यान्वयन सँगै आर्थिक बिकासतर्फ केन्द्रित हुनु पर्ने कुरामा जोड दिनु भयो ।
मन्त्री खाँडले शिक्षा क्षेत्रको समयानुकल परिमार्जन र समुचित बिकासका लागि सरकारले नयाँ ऐन कार्यान्वयनका लागि आवश्यक गृहकार्य भैरहेको जानकारी गराउनु भयो । आगामी चैत्र मसान्त भित्र स्थानिय तहको निर्वाचन सम्पन्न गर्न सरकार प्रयत्नशिल रहेको चर्चा गर्दै मन्त्री खाँणले संबिधान प्रदान गरेका अधिकार प्रयोग गर्दै अगाडी बढ्नु पर्ने आवश्यक्ता औंल्याउनु भयो ।
कुल एक करोड २० लाख रुपैयाँ लागतमा निर्माण भएको सो बिद्यालयको ९ कोठे भवनको उद्घाटन समारोहमा प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद ढकाल, जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापा, उद्योग बाणिज्य संघ बुटवलका अध्यक्ष महेशमान सिंह लगाएतले कान्ति उच्च मा.बिले शैक्षिक क्षेत्रमा पुराएको योगदानको चर्चा गर्नुभएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण चापागाईले विद्यालयले शैक्षिक विकास र गुणस्तरमा निरन्तर क्रियाशिल रहेको बताउदै नेपाल सरकारको भौतिक विकास कार्यक्रम अन्र्तगत रकम उपल्वध गराएकोमा धन्यवाद ब्यक्त गर्नुभयो । विद्यालयका प्राचार्य गोविन्द ज्ञवालीले विद्यालयको संक्षिप्त प्रतिवेदन पेश गर्दै विद्यालयको शैक्षिक गतिविधि, भौतिक अवस्थाबारे जानकारी गराउनु भएको थियो । भवन निर्माण गर्दा करिब ६० लाख सरकारबाट अनुदान प्राप्त भएको र सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्दा एक करोड २० लाख रकम लाग्ने अनुमान गरिएको उहांले जनाकारी गराउनुभयो ।
अनुदानको रकम बाहेक अन्य रकम निजी स्रोतबाट जुटाईएको प्राचार्य ज्ञवालीले बताउनुभयो । कार्यक्रममा जिल्लाको शान्ति सुरक्षा र प्रशासनिक सुशासन सफलतापूर्वक निर्वाह गरेकोमा प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकाल र रुपन्देहीको शिक्षा क्षेत्रको बिकास र बिस्तारमा महत्वपूर्ण योगदान पुराएकोमा जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापालाई सम्मान गरिएको थियो ।
साथै भवन निर्माण उपसमितिका संयोजक अजमाहद् मिया, सदस्यहरु लक्ष्मी श्रेष्ठ, रुक्मागत पाण्डे, चुडामणी पौडेल, विश्वनाथ न्यौपाने, डिल्लीप्रसाद बेल्वासे र निर्माण व्यवसायी कृष्ण भुसाललाई पनि सो अवसरमा सम्मान गरिएको थियो । कार्यक्रमको संचालन सहप्राचार्य चुडामणी पौडेलले गर्नु भएको थियो ।