चिकित्सक संघको नेतृत्वको लागि लुम्बिनीमा मतदान

1.3K

चिकित्सक संघको नेतृत्वको लागि लुम्बिनीमा मतदान

vote

कबिन्द्र नेपाल/
बुटवल, १८ भदौ । नेपाल चिकित्सक संघमा नयाँ नेतृत्व चयन गर्न भएको निर्वाचनमा लुम्बिनी अञ्चलबाट एक सय ७९ जनाले मतदान गरेका छन् । नेपाल चिकित्सक संघमा केन्द्रीय पदाधिकारी चयनकालागि उपत्यका बाहिर देशभर शुक्रबार र शनिबार मतदान भएको थियो ।

उक्त मतदानमा लुम्बिनी अञ्चलका ६ जिल्लाबाट एक सय ८ जनाले मतदान गरेका छन् भने बाँकी ७१ जना लुम्बिनी अञ्चल बाहिरका सदस्य भएको लुम्बिनी अञ्चल अस्पताल मतदान केन्द्रका सहायक मतदान अधिकृत लक्ष्मीराज रेग्मीले बताउनु भयो । नेपाल चिकित्सक संघको लुम्बिनी अञ्चल शाखामा २ सय २० जना सदस्य छन् । जसमा १ सय १२ जनाले निर्वाचनमा भाग नलिएका हुन् । सदस्य संख्याका आधारमा लुम्बिनीमा आधा भन्दा बढी सदस्यले मतदान गरेनन् ।

संघको अधिवेशसनमा सम्बन्धित क्षेत्र बाहिर संघको सदस्यता लिएकालाई पनि मतदानमा सहभागि गराईएको हो । संघको सदस्यता लिएका तर सम्बन्धित शाखा बाहिरका मतदातालाई निवेदन र परिचय पत्रका आधारमा मतदान गराई छुट्टै मुचुल्का उठाएर केन्द्रमा पठाईने निर्वाचन अधिकृत लुम्बिनी अञ्चल अस्पताल बुटवलका मेडिकल सुपरिटेण्डेण्ड बिकास देवकोटाले बताउनु भयो ।

पहिलो चरणमा उपत्यका बाहिर भएको मतपेटीकालाई केन्द्रकृत गरी उपत्यकाको मतदान पछि मात्रै मत गणना गरिने निर्वाचन समितिले जनाएको छ । उपत्यकामा भने यहि भदौको २१ देखि २५ गते सम्म मतदान हुने छ । चिकित्सक संघको केन्द्रीय कार्यसमितिमा नेतृत्व लिनकालागि दुई प्यानल मैदानमा उत्रीएका छन् ।

डा. मुक्तिराम श्रेष्ठको नेतृत्वमा मैदानमा उत्रीएको लोकतान्त्रिक प्यानलको वरिष्ठ उपाध्यक्षमा डा. ढुण्डीराज पौडेल, उपाध्यक्षमा डा. मुकुन्द दाहाल, महासचिवमा डा. लोचन कार्की, काषाध्यक्षमा डा. रश्मीप्रसाद यादव, सहसचिवमा डा. अभिमन्यु झा, सहकोषाध्यक्षमा डा. प्रकाश बुढाथोकी तथा सदस्यहरुमा डा. अनिल बिक्रम कार्की र डा. बद्री रिजाल हुनुहुन्छ ।

त्यस्तै समावेशी प्यानलबाट अध्यक्षमा डा. रमेश ढकाल, वरिष्ठ उपाध्यक्षमा डा. सन्तोष पौडेल, उपाध्यक्षमा डा. शिभेन्द्र झा, महासचिवमा डा. अजयकुमार मिश्र, कोषाध्यक्षमा डा. रक्षा श्रेष्ठ, सहकोषाध्यक्षमा डा. समिर शर्मा तथा सदस्यहरुमा डा. अमल बस्नेत, डा. अवधेशकुमार शाह, डा. महेश महासेठ, डा. सुजया गुप्ता चुनावी प्रतिस्पर्धामा उत्रिनु भएको छ । यस बाहेक डा. पुष्पमणी खरालले स्वतन्त्र रुपमा महासचिवमा प्रतिस्पर्धामा उत्रिनु भएको छ ।