बुटवल, २ असोज । बुटवलको देवीनगरमा रहेको नविन औद्योगिक कदरबहादुर रीता उच्च माध्यमिक बिद्यालयको व्यबस्थापन समिति गठनको बिषयलाई लिएर विवाद उत्पन्न भएपछि हात हालाहाल भएको छ ।
बिद्यालयले यही असोज ५ गतेलाई बिद्यालय व्यबस्थापन समिति चयनका लागि निर्वाचनको मिति तय गरेको र समितिको निर्वाचनको प्रचार प्रसारका लागि बिद्यालय हातामा प्रवेश गरेका कदरबहादुर रायमाझी र बिद्यालयका शिक्षक, कर्मचारी बिचमा चर्को विवाद भएको हो । विवादकै कारण एक अर्काले आफू माथि हातपात भएको आरोप प्रत्यारोप गरेका छन् ।
बिद्यालयमा अध्यापन गर्ने शिक्षकहरुले आफूहरु माथि कदरबहादुर र संगै आएकाले हातपातको प्रयास गरेको आरोप लगाएका छन् । तर उक्त आरोप कदरबहादुले भने स्वीकार्नुहुन्न । उहाँले आफूहरुमाथि आक्रमण गर्ने प्रयास गरेपछि बिद्यालयबाट भागेर बँचेको प्रतिआरोप लगाउनु भयो ।
बिद्यालयका शिक्षक सन्तोष पछाईले आफू सहित विष्णु पन्थी र कमल गैरे माथि हातपात गरेको आरोप लगाउनु भएको छ भने कदरबहादुर संगै बिद्यालय प्रवेश गर्नुभएका नेपाली काँग्रेस बुटवल १३ का सभापति चित्रबहादुर बर्माले आफू भागेर बाँचेको प्रतिक्रिया दिनुभयो ।
आफूलाई अध्यक्ष हुनबाट रोक्नकालागि शिक्षकले चलखेल गरेको कदरबहादुले आरोप लगाउनु भयो । उहाँले बिद्यालयमा शिक्षकले अनियमितता गरेको र आफूले रोक्ने प्रयास गरेकाले शिक्षकहरु आफूबिरुद्ध उत्रिएको उहाँले बताउनु भयो ।
व्यबस्थापन समितिका पूर्व अध्यक्ष रायमाझी विरुद्ध अख्तियारमा मुद्धा परेपछि जिल्ला शिक्षा कार्यालयका पदाधिकारीको सल्लाहमा गत जेठ ३१ गते पदबाट राजीनामा दिनुभएको थियो । यो विवादसंगै निर्वाचनको मिति अन्यौलमा गएको छ ।
विवाद पश्चात दुवै पक्षलाई इलाका प्रहरी कार्यालय बुटवलले मिलाउने प्रयास गरेको छ । यसैबीच रुपन्देहीमा क्रियाशिल शिक्षक युनियन, शिक्षक संघ, संगठन लगायत सबै पार्टी समर्पित शिक्षक संगठनले संयुक्त रुपमा विज्ञ्प्ती जारी गरी पुर्व अध्यक्ष रायमाझीको नेतृत्वमा आएको टोलीले शिक्षकमाथी हातपात गरेकोले खेद व्यक्त गदै दोषी माथि कारवाहीको माग गरेका छन् ।