जिल्लास्तरीय प्रतियोगितामा दीप प्रथम

1.3K

जिल्लास्तरीय प्रतियोगितामा दीप प्रथम

badbibad

बुटवल, २६ मंसिर । बुटवलमा अञ्चलस्तरीय अन्तर विद्यालय अन्तरगतको रुपन्देही जिल्लास्तरीय वादविवाद प्रतियोगिता भएको छ ।

रुपन्देहीमा संस्थागत तथा सामुदायिक विद्यालयका डेढ दर्जन विद्यालयहरुको सहभागिता रहेको उक्त प्रतियोगितामा दीप बोडिङ्ग स्कुलका सृजल पोखरेल प्रथम भएका छन् । बुटवल–१० को सुख्खानगरमा रहेको एभरेष्ट उच्च माविले आयोजना गरेको प्रतियोगितामा होराईजन उच्च माविका विद्यार्थी प्रिज्मा पोखरेल द्वितिय, सगरमाथा आवासिय उच्च माविका कृतिका अर्याल तृतिय भएको आयोजक विद्यालय एभरेष्टका शिक्षक भिमसेन गौतमले जानकारी दिनुभयो ।

कान्ति उच्च माविका प्राचार्य गोविन्द ज्ञवालीको अध्यक्षतामा भएको प्रतियोगिता उद्घाटन कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड बुटवलका प्रमुख सुरेन्द्र पराजुली, जिल्ला शिक्षा कार्यालय रुपन्देहीका विद्यालय निरीक्षक हरिलाल अर्याल, भैरहवा बहुमुखी क्याम्पसका सहप्राध्यापक डिल्लीराज भट्टराई, बुटवल बहुमुखी क्याम्पसका सहप्राध्यापक धर्मेन्द्र भट्टराई, साहित्यकार राजेन्द्र आचार्य, एभरेष्टका प्राचार्य कृष्ण न्यौपाने, ग्रिनप्लान्ट उच्च माविका प्राचार्य राजिव सापकोटा लगायतले विद्यार्थीहरुमा रहेको अन्तरनिहित प्रतिभाको प्रष्फुटनका लागि यस्ता कार्यक्रमले सघाउ पुग्ने बताउनुभयो ।

कार्यक्रमको संचालन एभरेष्टका सहायक प्राचार्य विष्णु अर्यालले गर्नु भएको थियो । यस अघिनै लुम्विनी अञ्चलका पाँचबटै जिल्लामा जिल्लास्तरीय प्रतियोगिता सम्पन्न भई सकेको छ भने पुषको दोस्रो साता भित्र अञ्चलस्तरीय प्रतियोगिता सम्पन्न गर्ने कार्यक्रम रहेको आयोजक विद्यालयका सहायकप्राचार्य माधवप्रसाद आचार्यले जानकारी दिनुभयो ।

छ वटै जिल्लाबाट छनोट भएका विद्यार्थीहरुको फाईनल प्रतिस्प्रर्धा बुटवलमा हुने छ ।