कसरी बन्दैछ काब्रेपोखरी नमुना ?

1.3K

कसरी बन्दैछ काब्रेपोखरी नमुना ?

सुवास विश्वकर्मा/
गुल्मी, १८ पुस । काब्रेपोखरी उच्च माध्यमिक विद्यालय जुभुङ्ग गुल्मीलाई नमुना शैक्षिक संस्था बनाउन धार्मिक एवं शैक्षिक महोत्सव हुदैछ । विद्यालयको स्तरवृद्धि गरी प्राविधीक शिक्षाको लागि यही पुसको २५ गते देखि धार्मीक एवं शैक्षिक महोत्सव हुन लागेको हो ।

माघ ३ गते सम्म सञ्चालन हुने महोत्सवको तयारी तिब्र पारिएको महोत्सव मुल आयोजक समितिले जनाएको छ । महोत्सवको उद्घाटन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गुल्मी क्षेत्र नं. २ का सांसद चन्द्र भण्डारीले गर्नु भएको छ भने समापन नेकपा एमालेका सचिव तथा पुर्व सांसद प्रदिप ज्ञवालीले गर्नुहुने विद्यालयका प्राचार्य तेजेन्द्र खड्काले जानकारी दिनुभयो ।

विद्यालयमा २०६४ साल जेठ ५ गते अज्ञात समुहबाट आगजनी भएको थियो । आगजनीबाट ध्वस्त भएको विद्यालय निर्माण गर्न प्रधानमन्त्री राहतकोष, शिक्षा मन्त्रालय, अर्थ मन्त्रालय र स्थानिय संघ संस्थाबाट ३२ लाख ९५ हजार र ५० प्रतिशत स्थानियको जनश्रमदानमा आठ कोठे पक्की भवन बनाइएको विद्यालयका पुर्व प्राचार्य ज्ञान बहादुर खड्काले जानकारी दिनुभयो । पछी चार कोठा थप गरी हाल उक्त भवनमा १२ कोठा रहेका छन् ।

विद्यालयमा हाल उच्च माविमा व्यवस्थापन र शिक्षा संकायमा पढाई हुदै आएको छ । २१ शिक्षक रहेको विद्यालयमा कक्षा १ देखि ६ सम्म अंग्रेजी माध्यममा पढाई भएको पुर्व प्राचार्य श्रीराज खड्काले जानकारी दिनुभयो ।

महोत्सवको प्रचारप्रसार, ब्यवस्थापकीय र पुर्वाधार निर्माण लगायतको तयारी गर्ने काम तिब्र पारिएको महायज्ञ मुल आयोजक समितिका अध्यक्ष ज्ञान बहादुर खड्काले जानकारी दिनुभयो । महायज्ञ लाई सभ्य र भव्य रुपमा सु–सम्पन्न गर्न विभिन्न विद्यालय, अभिभावक, शिक्षक, विद्यार्थी, स्थानिय बासी, महिला समुह, क्लव र सञ्चालकहरु विभिन्न समित तथा उप समिति गठन गरि तयारीमा जुटेका छन् ।

महायज्ञ उद्घाटन समारोहका दिन कलशयात्राले जुभुङ्ग गा.वि.स परिक्रमा गर्ने हुदाँ कलश संकलन गर्ने कार्यलाई समेत तिब्र पारिएको छ । त्यसको लागि आवश्यक कलश जुभुङ्ग गा.वि.स तथा  छिमेकी गा.वि.सका प्रत्येक घरधुरी तथा बिभिन्न ठाउँमा बसोबास गर्ने व्यक्तीहरुले उपलब्ध गराउदै आएको छ ।

महोत्सवको उक्त क्षेत्रका साथै काठमाडौ, बुटवल लगाएतका ठाउँमा पुगेर तथा स्थानिय रेडियो, स्थानिय टेलिभिजन माध्यमबाट प्रचारप्रसार गरिएको प्रचार प्रसार समितिका संयोजक प्रकाश थापाले जानकारी दिनु भएको छ । महोत्सव मार्फत एक करोड भन्दा बढी रकम संकलन गर्ने लक्ष्य राखिएको र  उक्त महान कार्यमा देश तथा बिदेशमा रहनुभएका महानुभावहरुलाई आर्थीक सहयोग गरिदिन तथा आर्थिक सहयोग गर्ने महानुभाव तथा दानदात्ताहरुलाई सम्मान समेत गरिने महायज्ञ मुल समारोह सचिवालय समितिका संयोजक सन्त बहादुर थापाले जानकारी गराउनु भयो ।

सो महोत्सवमा १००८ शालिग्राम पुजा, अर्धना, परिक्रमा, विराट धनधान्य महापर्व, राष्ट्रिय कला प्रस्तुत, ५१०० भन्दा बढि शान्ति कलाश पुजन, संगीतमय श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ, योगविज्ञान शिविरको साथमा धार्मीक कथावाचन प्रवचन, भजनका साथै पुजाआजा गर्न सकिने विद्यालय सञ्चालक समिति एवं महायज्ञ मुल आयोजक समितिका अध्यक्ष खड्काले बताउनुभयो ।

महोत्सवमा अन्तराष्ट्रिय कथा वाचक गोविन्दशरण महाराजबाट प्रवचन हुनेछ ।