
मणिग्राम, ३ फागुन । भलवारी जेसीज सहितका स्थानीय संस्थाले तिलोत्तमा नगरमा आज सञ्चालन गरेको निःशुल्क आँखा शिविरमा करीब चारसय जनाको आँखा जाँच भएको छ ।
रूपन्देहीको तिलोत्तमा न.पा.–१४, कालिकास्थानमा भलवारी जेसीज र नेपाल रेयूकाईको आयोजना तथा जनहित स्वावलम्बन सहकारी संस्था लिमिटेडको व्यवस्थापन एवम् लायन्स आँखा अस्पताल बुटवलको प्राविधिक सहयोगमा निःशुल्क आँखा शिविर सञ्चालन भएको थियो । तीनसय पचहत्तर जनाको आँखा जाँच गरिएको शिविरमा आवश्यक परेका सबैजसोलाई औषधी र चश्मा समेत निःशुल्क वितरण गरिएको भलवारी जेसीज वर्ष २०१७ का अध्यक्ष मुक्तिनाथ गैह«ेले जानकारी दिनुभयो ।

कालिका स्वावलम्बन सहकारीका अध्यक्ष भाष्कर गौतमको अध्यक्षता एवम् सुरज न्यौपानेको संयोजकत्वमा भएको कार्यक्रममा स्थानीय नेता हरि काफ्ले, भलवारी जेसीज वर्ष २०१६ का अध्यक्ष भेषराज पाण्डेय, लायन्स आँखा अस्पतालका प्राविधिक मनोहर न्यौपाने, नेपाल रेयूकाईका श्यामकुमार बस्याल, कमल खरेल, सहकारीका व्यवस्थापक नारायण गैरे लगायतले बोल्नुभएको थियो ।
तिलोत्तमा नगर सहित देवदह नगरपालिका तथा सिक्टहनका बासिन्दाको आँखा जाँच गरिएकोमा अठार जनामा मोतियाविन्दु भेटिएको हुँदा अस्पतालले उनीहरूको निःशुल्क उपचार गर्ने बताएको छ ।
