
काठमाडौं, ४ फागुन । उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा सबै किसिमका सुरक्षाको व्यबस्था मिलाउन सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिनु भएको छ ।
फागुन १४ गतेका लागि निर्धारण गरिएको स्ववियु चुनावका लागि सुरक्षाका बिषयमा छलफल गर्न आज आयोजित कार्यक्रममा गृहमन्त्री निधिले तीनवटै सुरक्षा निकायका प्रमुखहरुलाई यस्तो निर्देशन दिनु भएको हो । छलफलमा तीनवटै सुरक्षा निकायका प्रमुख, उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, त्रिविका उपकुलपति, रेक्टर, रजिष्ट्रार र उपत्यकाका क्याम्पस प्रमुखहरुको उपस्थिति रहेको थियो । गृहमन्त्री निधिले स्ववियू चुनाव गर्ने बिषयमा राजनीतिक तहमा छलफल भएको उल्लेख गर्दै मधेसी मोर्चाका नेताहरुसँगसमेत यस बिषयमा पर्याप्त छलफल भएको जानकारी गराउनु भयो ।
छलफल कार्यक्रममा केही क्याम्पस प्रमुखहरुले सुरक्षा चुनौती रहेको भन्दै केही दिन पर सारेर जानु पर्ने सुझाव राखेका थिए । तर गृहमन्त्री निधिले भने तोकिएको चुनाव सार्नु राजनीतिक र शैक्षिक हिसाबले पनि उपयुक्त नहुने बताउनु भयो । त्रिवि उपकुलपति डा. तीर्थ खनियाले तोकिएको मितिमै चुनाव गराउनु पर्ने बताउनु भयो ।
यसैबिच, बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा स्ववियु चुनावका बिषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, गृहमन्त्री बिमलेन्द्र निधि, कांग्रेस केन्द्रीय सदस्य गोबिन्द भट्टराई, एमाले नेता रबिन्द्र अधिकारी, माओवादी केन्द्रका हितमान शाक्य, त्रिवि उपकुलपति डा. तीर्थ खनिया, रेक्टर, रजिष्ट्रार लगायतको बैठक बसेको थियो ।
बैठकले तोकिएकै मितिमा चुनाव गर्नुपर्ने र त्यसका लागि आबश्यक सुरक्षाको व्यबस्था मिलाउन गृहमन्त्री निधिलाई जिम्मा दिएको थियो ।