
बुटवल, १४ फागुन । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसियशन नेपाल (एन प्याब्सन) का केन्द्रीय अध्यक्ष कर्णबहादु शाहीले राजनीतिक दलको दर्शनबाट शिक्षा मन्त्रालयन चलाउन नहुने सुझाव दिनु भएको छ ।
कसैको दर्शनबाट शिक्षा नीतिलाई चलाउन नहुने उल्लेख गर्दै उहाँले शिक्षालाई गुणस्तरीय र ब्यवहारीक कसरी बनाउन सकिन्छ भन्नेतर्फ चासो दिनु पर्नेमा जोड दिनुभयो । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसियशन नेपाल रुपन्देहीको चौथो जिल्ला अधिवेशनको आज बुटवलमा उद्घाटन गर्दै अध्यक्ष शाहीले समृद्ध नेपालका लागि आधुनीक शिक्षा प्रणालीको परिकल्पना संस्थागत विद्यालयहरुले गरेको बताउदै शिक्षामा ठुलो लगानी गरेका संस्थागत विद्यालयहरुलाई राज्यले विभेदकारी ब्यवहार गरेको आरोप लगाउनुभयो ।
उहाँले सरकारले सुरुवात गरेको लेटर ग्रेडिङ्ग प्रणाली राम्रो भएको भन्दै उहाँले कक्षा आठको जिल्ला स्तरीय परीक्षालाई पनि लेटरग्रेडिङ्ग प्रणालीबाटै संचालन गर्नु पर्ने र त्यसको विकल्प नभएको उल्लेख गर्नुभयो । अध्यक्ष शाहीले संस्थागत विद्यालयहरुलाई छात्रवृतिमा सिन्डिकेट लागु गरेर सरकारले राम्रो कार्य नभरेको भन्दै सहकारी वा गुठीमा जाने प्रस्तावले संस्थागत विद्यालयको लगानीको र जोखिमको सुरक्षा नहुने भनाई राख्नुभयो ।
एन प्याब्सन रुपन्देहीका अध्यक्ष कृष्ण पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा रुपन्देहीका जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापा, एन प्याब्सनका केन्द्रीय उपाध्यक्ष पाण्डव हमाल, महासचिव प्रकाश पाण्डेय, पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघका अध्यक्ष हरि अर्याल, अभिभावक संघ नेपालका अध्यक्ष लोकनाथ ज्ञवाली, राष्ट्रिय अभिभावक संघका अध्यक्ष पुर्णचन्द्र पाण्डे, नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिनेश पाण्डे, एन प्याब्सनका सल्लाहकार बालानन्द तिवारी, राजु गुरुङ्ग लगायतले शिक्षालाई उपायोगी शिक्षा बनाउनु पर्नेमा सबैको जोड हुनु पर्ने बताउनुभयो ।
एन प्याब्सनका उपाध्यक्ष देउप्रकाश राईको स्वागतमा भएको कार्यक्रमको संचालन सचिव तिलब केसी र सदस्य जेबी क्षेत्रीले गर्नु भएको थियो । सो अवसरमा एन प्याब्सनको तीन वर्षे कार्यकालमा विभिन्न रचनात्मक कार्यक्रममा संयोजकहरु तथा गत वर्षको प्रवेशिका परीक्षामा ३ दशमलव ६० जी.पी.ए ल्याएका विद्यार्थीहरुलाई समेत सम्मान गरिएको थियो । उक्त अधिवेशनले तीन वर्षे कार्यकालका लागि देउप्रकाश राईको अध्यक्षतामा १५ सदस्यीय समिति चयन गरेको छ । एन प्याब्सनको उपाध्यक्षमा तिलव केसी, सचिवमा विष्णु पौडेल, सहसचिवमा जेबी क्षेत्री, कोषाध्यक्षमा पुरुषोत्तम बस्याल, सहकोषाध्यक्षमा होमनाथ ढुङ्गाना चुनिनु भएको हो ।
यसैबीच एन प्याब्सन रुपन्देहीले शैक्षिक क्षेत्रमा कलम चलाएको भन्दै बुटवल एफएमका पत्रकार झविन्द्र देवकोटालाई एन प्याब्सन उत्कृष्ट पत्रकारिता पुरस्कार २०७३ ले सम्मान गरेको छ । कार्यक्रममा एन प्याब्सनका केन्द्रीय अध्यक्ष कर्णबहादुर शाही, रुपन्देही अध्यक्ष कृष्ण पौडेलले नगद पाँच हजार रुपैया र सम्मान पत्रले पत्रकार देवकोटालाई सम्मान गर्नु भएको हो । झण्डै डेढ दशक पत्रकारिताको क्षेत्रमा सक्रिय पत्रकार देवकोटा बुटवल एफएम र तिलोत्तमा राष्ट्रिय दैनिकमा कार्यरत हुनुहुन्छ ।